एक दशकअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अहिले विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा नयाँ इतिहास रचिरहेका छन्।
सन् २०१६ मा कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि निराश बनेका मेस्सीले राष्ट्रिय टोलीबाट बिदा लिने घोषणा गरेका थिए। तर त्यस निर्णयलाई पछि फिर्ता लिँदै उनले अर्जेन्टिनालाई स्वर्णिम सफलताको युगतर्फ डोर्याए।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले लगातार दुई कोपा अमेरिका उपाधि जितिसकेको छ भने सन् २०२२ को विश्वकप पनि जितेको थियो। त्यस प्रतियोगितामा उनले सात गोल गरेका थिए, जसमा फाइनलका दुई गोल समेत समावेश थिए।
विश्वकप २०२६ अन्तर्गत सोमबार भएको समूह चरणको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्दा दुवै गोल मेस्सीले गरे। यससँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए।
खेलको आठौँ मिनेटमा पेनाल्टी अवसर गुमाएका मेस्सीले ३०औँ मिनेटमा गोल गर्दै विश्वकपमा आफ्नो गोल सङ्ख्या १७ पुर्याए। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजेलाई पछि पारे। त्यसपछि इन्जुरी समयमा अर्को गोल थप्दै उनले आफ्नो विश्वकप गोल सङ्ख्या १८ पुर्याए।
हालसम्म २८ विश्वकप खेलमा १८ गोल गरेका मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। विशेष कुरा के छ भने उनका १८ मध्ये १२ गोल ३५ वर्षको उमेरपछि आएका छन्।
यो मेस्सीको छैटौँ विश्वकप सहभागिता हो। सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास फिर्ता लिएयता मात्र उनले विश्वकपमा १३ गोल गरिसकेका छन्।
अस्ट्रियाविरुद्धको खेलपछि मेस्सीले आफू अझै पनि खेलको आनन्द लिइरहेको प्रतिक्रिया दिए। उनले भने, “म मैदानमा रमाइरहेको छु। समर्थकलाई खुशी दिन पाउँदा हामीलाई पनि खुसी लाग्छ।”
यस विश्वकपमा अर्जेन्टिनाले गरेका सबै पाँच गोल मेस्सीकै नाममा छन्। उनी हाल प्रतियोगिताका सर्वाधिक गोलकर्ता पनि बनेका छन्।
अस्ट्रियाविरुद्ध गोल गर्दै उनले लगातार छ विश्वकप खेलमा गोल गर्ने तेस्रो खेलाडी बन्ने उपलब्धि पनि हासिल गरे। यसअघि फ्रान्सका जस्ट फोन्तेन र ब्राजिलका जाइरजिन्होले मात्र यस्तो कीर्तिमान बनाएका थिए।
यद्यपि खेलमा उनले पेनाल्टी गुमाएर अर्को कीर्तिमान पनि बनाए। उनी विश्वकप २०२६ मा पेनाल्टी गुमाउने पहिलो खेलाडी बने। विश्वकप इतिहासमा सबैभन्दा धेरै पेनाल्टी प्रहार गर्ने (७) र सबैभन्दा धेरै पेनाल्टी गुमाउने (३) खेलाडीको कीर्तिमान पनि अहिले मेस्सीकै नाममा छ।
तर पेनाल्टी चुकाएपछि दुई गोल गर्दै टोलीलाई जित दिलाएका मेस्सीको प्रदर्शनले फेरि एकपटक विश्व फुटबललाई चकित बनाएको छ। फुटबल विश्लेषकहरूले उनलाई इतिहासकै महान् खेलाडीको बहसमा अझ बलियो रूपमा स्थापित भएको बताएका छन्।
अर्जेन्टिना यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ। अब समूह चरणको अन्तिम खेलमा जोर्डनविरुद्ध मैदान उत्रँदा मेस्सीसँग थप नयाँ कीर्तिमान बनाउने अवसर रहनेछ।