भारतको महावाणिज्य दूतावास, वीरगञ्जले पोखरिया नगरपालिका र रानीगञ्ज आयुर्वेद अस्पतालको सहकार्यमा पर्साको पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा “स्वस्थ वृद्धावस्थाका लागि योग” विषयक १२औँ अन्तर्राष्ट्रिय योग दिवस समारोह आयोजना गरेको छ।
उक्त कार्यक्रम १२औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा महावाणिज्य दूतावासद्वारा सञ्चालन गरिएको कार्यक्रम शृङ्खलाअन्तर्गतको चौथो कार्यक्रम रहेको जनाइएको छ।

कार्यक्रममा विद्यार्थीसहित ३५० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। सहभागीहरूले योगमार्फत स्वास्थ्य, सद्भाव तथा समग्र कल्याणको सन्देश प्रवाह गरेका थिए। विशेषगरी विद्यार्थीहरूलाई सानै उमेरदेखि योगका फाइदा तथा समग्र व्यक्तित्व विकासमा यसको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

कार्यक्रममा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान, उपप्रमुख तथा पूर्व नगरप्रमुखलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत देवी सहाय मीनाले उत्तम स्वास्थ्य, सद्भाव र समग्र कल्याणका लागि योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन आग्रह गर्नुभयो।

प्रमुख अतिथि मन्त्री पटेल तथा नगरप्रमुख चौहानले विभिन्न स्थानमा योगसम्बन्धी कार्यक्रम सञ्चालन गरी योगको प्रवर्द्धन गर्न महावाणिज्य दूतावासले गरेको प्रयासको प्रशंसा गर्नुभयो।
सामूहिक योग अभ्याससँगै योगलाई दैनिक जीवनशैलीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।
