इंग्लिस क्लब आर्सनलले २२ वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। मंगलबार म्यानचेस्टर सिटी र बर्नमाउथबीचको खेल १–१ को बराबरीमा सकिएपछि आर्सनल आधिकारिक रूपमा च्याम्पियन बनेको हो।
प्रशिक्षण मैदानमा बालिएको आगो, ‘डुंगामा चढ्नुस्’ भन्ने सन्देश र एआईमार्फत तयार गरिएको टिकटक गीतसम्मले आर्सनलको सफल यात्रामा विशेष भूमिका खेलेको बताइएको छ। प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा क्लबले लामो समयदेखि बनाएको योजनाले यस सिजन पूर्णता पाएको हो।
सन् २०२० मा “ट्रस्ट द प्रोसेस” भन्ने आर्टेटाको भनाइ अहिले आएर सत्य सावित भएको छ। पछिल्ला केही सिजनमा उपाधिनजिक पुगेर चुकेको आर्सनलले यसपटक निरन्तरता, अनुशासन र रणनीतिक तयारीमार्फत सफलता हासिल गरेको हो।
क्लबका खेल निर्देशक एन्ड्रिया बेर्टा, पूर्व निर्देशक एडु लगायतको टोलीले खेलाडी छनोटदेखि टोली निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेका थिए। यस सिजन प्रिमियर लिगमा सबैभन्दा बढी खेल्ने १५ खेलाडीमध्ये १० जना एडुको कार्यकालमा अनुबन्ध भएका खेलाडी हुन्।
आर्सनलको सफलतामा युवा खेलाडीहरूको योगदान पनि उल्लेखनीय रह्यो। बुकायो साका, माइल्स लुइस–स्केली, इथन नवानेरी र म्याक्स डाउम्यान जस्ता खेलाडी क्लबकै एकेडेमीबाट उदाएका हुन्।
विशेषगरी १५ वर्षीय डाउम्यानले यस सिजन कीर्तिमानी प्रदर्शन गरेका छन्। उनी क्लबका लागि सबैभन्दा कम उमेरमा खेल सुरु गर्ने, च्याम्पियन्स लिग खेल्ने र प्रिमियर लिगमा गोल गर्ने खेलाडी बनेका छन्। आर्टेटाले उनको प्रतिभालाई अर्जेन्टिनी महान् लियोनल मेस्सीसँग समेत तुलना गरेका छन्।
सिजनभर आर्सनलको रक्षापंक्ति बलियो रह्यो। गाब्रियल मगल्हाएस र विलियम सालिबाको जोडीलाई विश्वकै उत्कृष्ट सेन्टर–ब्याक साझेदारीमध्ये एक मानिएको छ। साथै डेक्लान राइस, डाभिड रायालगायतले पनि टोलीलाई निरन्तरता दिएका थिए।
गत सिजन लगातार तेस्रो पटक उपविजेतामा सीमित भएपछि आर्सनलले यसपटक स्ट्राइकर भित्र्याउने निर्णय गरेको थियो। त्यसक्रममा स्विडिस फरवार्ड भिक्टर ग्योकेरेस अनुबन्ध गरिएका थिए। सुरुआती समय संघर्ष गरे पनि उनले सिजनको उत्तरार्धमा उत्कृष्ट प्रदर्शन गर्दै सबै प्रतियोगितामा २१ गोल गरेका छन्।
आर्सनलले अब च्याम्पियन्स लिग उपाधितर्फ ध्यान केन्द्रित गर्ने भएको छ। मे ३० मा हुने फाइनलमा उनीहरूले पेरिस सेन्ट–जर्मेनसँग प्रतिस्पर्धा गर्नेछन्। उपाधि जिते आर्सनल क्लब इतिहासकै महान् टोलीका रूपमा स्थापित हुने चर्चा सुरु भएको छ।