इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आज हुने महत्त्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र कोलकाता नाइट राइडर्स (केकेआर) आमनेसामने हुँदैछन् । रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।
मुम्बई इन्डियन्सविरुद्ध अन्तिम बलमा रोमाञ्चक जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको आरसिबी लगातार उत्कृष्ट प्रदर्शनलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यद्यपि पछिल्ला खेलहरूमा टोलीको शीर्षक्रम केही दबाबमा देखिएको छ ।
फिल साल्ट चोटका कारण बाहिर रहँदा जेकब बेथेलले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् भने विराट कोहली लगातार दुई खेलमा शून्यमै आउट भएका छन् । यसले मध्यक्रममाथि अतिरिक्त दबाब सिर्जना गरेको छ । जितेश शर्मा र रोमारियो शेफर्डले पनि रन बनाउन संघर्ष गरिरहेका छन् ।
आरसिबीका लागि बलियो सुरुआत यस खेलको मुख्य आवश्यकता बन्ने देखिएको छ । टोलीले मध्य ओभरमा दबाब कम गर्न शीर्षक्रमबाटै स्थिर साझेदारी खोज्नेछ ।
उता, सिजनको सुरुआती चरणमा कमजोर देखिएको केकेआर अहिले पुनरागमनको लयमा छ । पहिलो ६ खेलबाट केवल १ अंक जोडेको टोलीले त्यसपछि लगातार चार खेल जित्दै प्लेअफ सम्भावना जीवित राखेको हो ।
केकेआरको पुनरागमनमा वरुण चक्रवर्तीको बलिङ महत्वपूर्ण बनेको छ । उनले पछिल्ला चार खेलमा ८ विकेट लिएका छन् । यद्यपि चोटका कारण उनको उपलब्धता अझै निश्चित भइसकेको छैन ।
ब्याटिङतर्फ फिन एलन उत्कृष्ट लयमा छन् । उनले अघिल्लो खेलमा अविजित शतक प्रहार गर्दै टोलीलाई प्रभावशाली जित दिलाएका थिए । शीर्षक्रमले निरन्तर रन दिन थालेपछि केकेआरको आत्मविश्वास बढेको छ ।
रायपुरको पिच बलरलाई सहयोगी मानिएको छ । यसअघि आरसिबी र मुम्बईबीचको खेलमा १६६ रनको लक्ष्य पनि अन्तिम बलसम्म पुगेको थियो । त्यसैले १६० देखि १८० रनसम्मको योगफल प्रतिस्पर्धात्मक हुन सक्ने अनुमान गरिएको छ ।
आईपीएल इतिहासमा यी दुई टोलीबीच केकेआरको पकड बलियो देखिएको छ । हालसम्म भएका भेटमा केकेआरले २० खेल जित्दा आरसिबीले १५ खेल आफ्नो पक्षमा पारेको छ । सन् २०२३ यता केकेआरले आरसिबीविरुद्ध चार खेल जितिसकेको छ ।