स्पेनिस फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिने ‘एल क्लासिको’ यसपटक झन् रोमाञ्चक बनेको छ । आइतबार हुने खेलमा बार्सिलोनाले जित वा बराबरी निकाल्न सके लगातार दोस्रो पटक ला लिगा उपाधि जित्नेछ ।
ला लिगामा ११ अंकले अघि रहेको बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमै उपाधि सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यता रियल म्याड्रिड भने ड्रेसिङ रुम विवाद, खेलाडीबीचको झगडा र बढ्दो दबाबका बीच मैदान उत्रिँदैछ ।
रियलका प्रशिक्षक अल्भारो अर्बेलोआका लागि यो खेल सबैभन्दा कठिन परीक्षा बनेको छ । टोलीका मिडफिल्डर फेडेरिको भाल्भेर्डे र ओरेलियन चुआमेनीबीचको विवादले टोलीभित्रको तनाव सतहमा ल्याएको छ । उक्त घटनापछि भाल्भेर्डे चोटका कारण एल क्लासिकोबाट बाहिरिएका छन् भने दुवै खेलाडीलाई क्लबले पाँच लाख युरो जरिवाना गरेको छ ।
अर्बेलोआले भने खेलाडीहरूले गल्ती स्वीकार गरेर माफी मागिसकेको भन्दै अब त्यसलाई बिर्सिनुपर्ने बताएका छन् । उनले शीर्षस्तरीय फुटबलमा यस्ता घटना नयाँ नभएको प्रतिक्रिया दिएका छन् ।
यता बार्सिलोनामा भने वातावरण शान्त र आत्मविश्वासी देखिएको छ । प्रशिक्षक हान्सी फ्लिकले टोली एकढिक्का भएर मैदान उत्रिन तयार रहेको बताएका छन् ।
“हामी घरेलु मैदानमा उपाधि जित्न चाहन्छौं । समर्थकहरूको साथ हाम्रो ठूलो शक्ति हो,” फ्लिकले भने । उनले रियलभित्रको विवादबारे आफू “अलिकति” अचम्मित भएको बताए पनि त्यसमा चासो नरहेको स्पष्ट पारे ।
फ्लिकले रियलका स्टार फरवार्ड किलियन एम्बाप्पेलाई विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक भन्दै खुलेर प्रशंसा गरेका छन् ।
यस सिजन बार्सिलोनाले अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर पनि पाएको छ । यदि बाँकी खेलहरूमा लगातार जित निकाल्न सके बार्सिलोनाले ला लिगामा १०० अंक पुर्याउनेछ । यसअघि यो कीर्तिमान जोसे मोरिन्हो नेतृत्वको रियल म्याड्रिडले सन् २०११–१२ मा बनाएको थियो भने एक वर्षपछि टिटो भिलानोभा नेतृत्वको बार्सिलोनाले बराबरी गरेको थियो ।
अब बार्सिलोनासामु इतिहास दोहोर्याउने अवसर छ भने रियल म्याड्रिड आफ्नो प्रतिष्ठा जोगाउने दबाबमा मैदान उत्रिँदैछ ।