ब्राजिली फुटबल स्टार नेयमारले प्रशिक्षणका क्रममा आफ्नै टोलीका युवा खेलाडी रोबिन्हो जुनियरलाई थप्पड हानेको घटनापछि सार्वजनिक रूपमा माफी मागेका छन् ।
ब्राजिलियन क्लब सान्टोस फुटबल क्लबमा आइतबार प्रशिक्षणका क्रममा भएको घटनापछि १८ वर्षीय फरवार्ड रोबिन्हो जुनियरले आफूलाई “जोरदार थप्पड हानेको” आरोप लगाएका थिए । त्यसपछि क्लबले घटनाबारे आन्तरिक अनुसन्धान सुरु गरेको थियो ।
तर मंगलबार क्लबले दुवै खेलाडीबीचको विवाद समाधान भइसकेको जनाएको छ ।
३४ वर्षीय नेयमारले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, “यदि सार्वजनिक रूपमा माफी चाहिएको हो भने, म यहाँ माफी माग्छु । मैले आफ्नो रिस नियन्त्रण गर्न सकिनँ । फरक तरिकाले प्रतिक्रिया दिन सक्थें, तर मैले होस गुमाएँ ।”
ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले थपे, “गल्ती सबैबाट हुन्छ । त्यो मेरो पनि गल्ती थियो, उसको पनि । तर मेरो गल्ती अलि ठूलो भयो । ऊ मलाई धेरै मन पर्ने खेलाडी हो । फुटबलमा साथी वा भाइबीच पनि कहिलेकाहीँ विवाद हुन्छ, यो खेलकै हिस्सा हो ।”
घटनापछि नेयमारले कोपा सुदामेरिकाना अन्तर्गत रेकोलेताविरुद्ध भएको खेलमा गोल गरेपछि रोबिन्हो जुनियरलाई अँगालो हाल्दै खुसी साटेका थिए । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।
रोबिन्हो जुनियरले पनि नेयमारले घटना लगत्तै आफूले सीमा नाघेको महसुस गर्दै पटक–पटक माफी मागेको बताएका छन् ।
उनले भने, “यो घटनाले मलाई दुःखी बनायो, किनभने नेयमार बाल्यकालदेखि नै मेरा आदर्श हुन् । बाहिर धेरै गलत कुरा फैलाइयो, जसले विषयलाई आवश्यकताभन्दा बढी ठूलो बनायो । तर अहिले सबै ठीक छ, हामीबीच कुरा भइसकेको छ ।”