राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटसम्बन्धी विस्तृत मापदण्ड सार्वजनिक गरेको छ। पार्टीले उम्मेदवार छनोटमा निष्ठा, नैतिकता र सार्वजनिक आचरणलाई प्रमुख आधार बनाउने जनाएको छ।
रास्वपाका अनुसार उम्मेदवारको लोकप्रियता वा चुनाव जित्ने सम्भावनालाई मात्र होइन, उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता तथा लोकतान्त्रिक संस्कारलाई समेत मूल्यांकनका मुख्य आधार बनाइनेछ।
पार्टीले स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा पूर्वाधारगत आवश्यकताबारे जानकार र जनस्तरमा भिजेका व्यक्तिलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै, पार्टी निर्माणमा निरन्तर योगदान पुर्याएका सदस्य, विभिन्न क्षेत्रमा अब्बल साबित भएका विज्ञ, अनुभवी, ऊर्जावान् तथा जनविश्वास प्राप्त व्यक्तिहरूको सन्तुलित मूल्यांकन गर्दै ‘सही व्यक्तिलाई सही स्थानमा’ चयन गर्ने प्रतिबद्धता जनाएको छ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा समावेशितालाई पनि प्राथमिकता दिने जनाएको छ। महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, युवा, पिछडिएको क्षेत्र, श्रमिक, किसान, उद्यमी तथा पेशाकर्मीहरूलाई समान अवसर प्रदान गरिने उल्लेख गरिएको छ। यसबाट समाजको वास्तविक बहुविविधता प्रतिबिम्बित हुने नेतृत्व विकास हुने विश्वास पार्टीको छ।
उम्मेदवारको स्थानीय स्तरमा स्वीकार्यता, जनविश्वास, संगठनात्मक क्षमता तथा निर्वाचन जित्ने वास्तविक सम्भावनाको पनि परीक्षण गरिनेछ। सम्बन्धित क्षेत्रका पार्टी सदस्य, स्थानीय संरचना र समुदायसँग उम्मेदवारको सम्बन्धको मूल्यांकन गरिने पार्टीले जनाएको छ।
रास्वपाले नेता–केन्द्रितभन्दा विधि–केन्द्रित निर्णय संस्कृतिको विकास गर्दै परिणाममुखी स्थानीय सरकार निर्माण गर्ने लक्ष्य राखेको छ। साथै, पार्टीको मूल्य–मान्यता र राष्ट्रिय दृष्टिसँग स्थानीय नेतृत्वलाई जोड्ने तथा निरन्तर सुधार र संस्थागत सिकाइ प्रणाली विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
क्यान्डिडेट क्लबमार्फत आवेदन अनिवार्य
रास्वपाले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक आकांक्षीहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिनुपर्ने व्यवस्था गरेको छ। प्रारम्भिक चरणमा आकांक्षीहरूको व्यक्तिगत पृष्ठभूमि, विज्ञता तथा आधारभूत योग्यताको परीक्षण गरिनेछ।
पार्टीले ‘पालिका क्यान्डिडेट क्लब’ र ‘वडा क्यान्डिडेट क्लब’ गरी दुई प्रकारका संरचना बनाउने जनाएको छ। पालिका क्यान्डिडेट क्लबमा प्रमुख/मेयर, उपप्रमुख/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष पदका आकांक्षीले आवेदन दिन सक्नेछन् भने वडा क्यान्डिडेट क्लबमा वडाध्यक्ष र वडासदस्य पदका आकांक्षीले आवेदन दिन सक्नेछन्।
आवेदन दिने आकांक्षीहरूले नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, पार्टीको विधान तथा उम्मेदवार छनोटसम्बन्धी आधारभूत मापदण्डबारे जानकारी राख्नुपर्नेछ। साथै, शैक्षिक प्रमाणपत्रको सत्यता, वैवाहिक अवस्थाको स्पष्टता, घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, साइबर बुलिङ, ठगी, मिटरब्याज तथा सहकारी रकम अपचलनजस्ता गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ।
पार्टीले सदस्यता प्राप्त गरेको कम्तिमा ४५ दिन पूरा भएको हुनुपर्ने ‘कुलिङ पिरियड’ पनि लागू गरेको छ। अन्य दलबाट प्रवेश गरेका व्यक्तिका हकमा भने सदस्यता लिएको कम्तिमा ९० दिन पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
रास्वपाले पारदर्शी, उत्तरदायी र योग्य नेतृत्व चयनमार्फत स्थानीय सरकारलाई प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्यसहित यो मापदण्ड सार्वजनिक गरेको जनाएको छ।