नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विस्थापित सुकुम्बासीहरूको पुनःस्थापनाका लागि स्पष्ट योजना ल्याउन सरकारलाई दबाब दिएका छन्। विशेषतः बारा–पर्सामा विगतमा देखिएको प्रभावकारी पुनःस्थापनाको उदाहरण प्रस्तुत गर्दै उनले अहिलेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले बस्तीमा डोजर चलाएर हजारौं नागरिकलाई घरवारविहीन बनाइएको उल्लेख गरे। उनले ती प्रभावित नागरिकलाई पुनःस्थापना गर्न “ज्ञ (ज्ञान) क्रान्ति”को खाका आवश्यक रहेको बताए।
“वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ भन्ने नेतृत्वले आजको संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै छ?” भन्ने प्रश्न उठाउँदै उनले सुकुम्बासीहरूलाई स्पष्ट योजना र समयमै आश्वस्त पार्नुपर्ने आवश्यकता औंल्याए।
पोखरेलले २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीपछिको अवस्थालाई स्मरण गर्दै तत्कालीन सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापना गरेको उदाहरण प्रस्तुत गरे। उक्त आँधीमा २८ भन्दा बढीले ज्यान गुमाएका थिए भने हजारौं घरपरिवार विस्थापित भएका थिए। त्यसबेला राज्यले देखाएको सक्रियता सकारात्मक नमूना भएको उनले उल्लेख गरे।
तर अहिलेको अवस्था फरक देखिएको उनको भनाइ छ। “सरकार आफैंले सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरबारविहीन बनाएको छ। बर्खा आउनुअघि पुनःस्थापना नगरे गम्भीर मानवीय संकट निम्तिने निश्चित छ,” उनले चेतावनी दिएका छन्।
पर्सा–बाराका स्थानीय सरोकारवालाहरू पनि विगतको जस्तै शीघ्र र प्रभावकारी पुनःस्थापनाको अपेक्षामा छन्। अस्थायी बासस्थानको अवस्था दयनीय रहेको र त्यहाँको यथार्थ सार्वजनिक गर्न समेत अवरोध भइरहेको आरोपसमेत उठिरहेका छन्।
पोखरेलले सरकारलाई मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ गम्भीर बन्न आग्रह गरेका छन्।