त्रिभुवन राजपथ विस्तारसँगै मुख्य सडकका संरचना भत्किएपछि सिर्जिएको सटर अभावलाई केही घरधनीले ‘कमाउने अवसर’ बनाएको पाइएको छ। विस्थापित व्यवसायीलाई सहजीकरण गर्नुको साटो उल्टै चर्को भाडा असुल्न थालेपछि वीरगञ्ज महानगरपालिकाले कडा कदम चालेको छ।
महानगरले बिहीबार एक जरुरी सूचना जारी गर्दै घरभाडामा भइरहेको अनियमितता नियन्त्रण गर्न कानुनी चेतावनी दिएको हो।
महानगरको राजस्व व्यवस्थापन महाशाखा प्रमुख मनोज कुमार कर्णद्वारा जारी सूचनामा मुख्य सडकका घर भत्किएको मौका छोपी अन्य स्थानका घरधनीहरूले बहालमा बसिरहेका व्यवसायीलाई अत्यधिक भाडा बढाउन दबाब दिएको र सम्झौता अवधि नपुग्दै हटाउन खोजेको गुनासो आएको उल्लेख छ।
सम्झौता अब अनिवार्य रूपमा दर्ता गर्नुपर्ने
महानगरले अबदेखि घर, कोठा, सटर वा गोदाम बहालमा लिँदा वडा कार्यालयबाट प्रमाणित गराई सो सम्झौताको एक प्रति अनिवार्य रूपमा महानगरको राजस्व व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिएको छ।
यस प्रावधान पालना नगरेमा वा फर्जी सम्झौता पेश गरेमा सुरु अवधिकै जरिवाना र प्रचलित कानुनबमोजिम थप कारबाही गरिने चेतावनी दिइएको छ।
“सडकले उजाड्यो, घरबेटीले झन् पेल्दैछन्”
मधेश विश्वविद्यालयकै अगाडि रहेको सरार्फ मोटरसाइकल वर्कसपका संचालक गुडु सरार्फले वर्तमान अवस्था झन् जटिल बनेको गुनासो गरे।
“पहिले १०–१५ हजारमा चलिरहेको सटर अहिले २५ देखी ३० हजार माग्न थालेका छन्। सडक विस्तारले पसल नै भत्कियो, अब सर्न खोज्दा घरबेटीले झन् पेलिरहेका छन्। यस्तो अवस्थामा व्यापार कसरी गर्ने?” उनले भने।
सटर अभावका कारण अहिले आदर्शनगर, लिंकेज रोड र माइस्थान क्षेत्रतर्फ व्यवसायीहरूको चाप बढेको छ। तर त्यहाँ पनि घरधनीहरूले ‘जसले बढी तिर्छ, उसैलाई सटर’ दिने प्रवृत्ति बढेको व्यवसायीहरूको आरोप छ।
गर्मीको कहरले थपियो समस्या
यता, आर्थिक र भौतिक समस्यासँग जुधिरहेका व्यवसायीहरूलाई मौसमले पनि थप पीडा दिएको छ। जल तथा मौसम विज्ञान विभागले पर्सा सहित मधेस प्रदेशमा ‘तातो लहर’ (हीटवेभ) को पहेँलो चेतावनी जारी गरेको छ।
४०–४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएकाले सटर खोज्दै हिँड्नुपर्ने बाध्यता र सडक विस्तारको धुलोले साना व्यवसायीहरूको दैनिकी अझ कष्टकर बनेको छ।
अनुगमनले देखाउनेछ प्रभाव
महानगरको पछिल्लो कदमले घरभाडामा भइरहेको मनपरी कत्तिको नियन्त्रण हुन्छ भन्ने आगामी दिनको अनुगमनले देखाउनेछ। अहिलेका लागि भने सडक विस्तारसँगै सिर्जिएको सटर संकटले वीरगञ्जको व्यापारिक क्षेत्र गम्भीर चुनौतीमा परेको स्पष्ट देखिएको छ।
