सेयर कारोबार र विवादित व्यवसायीसँगको साझेदारीको आरोपले घेरिएपछि गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्।
उनले आज प्रधानमन्त्री बालेन शाह लाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। पछिल्लो समय उनीमाथि उठेका प्रश्न र चौतर्फी आलोचनापछि उनले नैतिक आधारमा पद त्यागेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै गुरुङले आफूले उठेका विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ उनले लेखेका छन्।
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी आन्दोलन’ को सन्देशलाई पनि आत्मसात् गरेको बताएका छन्। सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्नेमा उनले जोड दिएका छन्।
आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन होस् भन्ने माग गर्दै गुरुङले पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको स्पष्ट पारेका छन्।
‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा त्यसमा कुनै प्रभाव नपरोस् भन्ने उद्देश्यले आजैदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्।
साथै, उनले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै सञ्चारकर्मी र सर्वसाधारणलाई सत्य र इमानदारीको पक्षमा उभिन आग्रह गरेका छन्। उनले केही मिडियाकर्मीहरूलाई समेत संकेत गर्दै “कहाँ कहाँ ‘स्वीट सेयर’ छ विस्तारै बाहिर आउने” चेतावनी दिएका छन्।
उनको राजीनामासँगै राजनीतिक वृत्तमा नैतिकता, पारदर्शिता र उत्तरदायित्वबारे बहस थप चर्किने देखिएको छ।