कप्तानसहित केही प्रमुख खेलाडी परिवर्तन गरी तयार पारिएको नेपाली टोलीले यूएईसँग घरेलु मैदानमा दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार र मंगलबार सम्पन्न दुई खेलमा नेपाल र यूएईले समान एक–एक खेल जित्दै सिरिज १–१ को बराबरीमा टुंग्याए। नेपाल र यूएईबीचको प्रतिस्पर्धा सामान्यतया कडा हुने अपेक्षा गरिए पनि यसपटक दुवै खेल एकपक्षीयजस्तै देखिए। पहिलो खेलमा यूएई हावी हुँदा दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो।
यो सिरिज नेपालका लागि विशेष रह्यो। नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजबाट रोहित पौडेललाई कप्तानीबाट हटाउँदै दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको नेतृत्व सुम्पिएको थियो। साथै, केही अनुभवी खेलाडीलाई विश्राम दिँदै टोलीमा युवा खेलाडीलाई अवसर प्रदान गरिएको थियो।
यस क्रममा नेपालबाट हेमन्त धामी र सन्तोष यादवले टी–२० अन्तर्राष्ट्रिय डेब्यू गर्ने अवसर पाए। पहिलो खेलमा महँगो सावित भएका हेमन्तले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। पहिलो खेलमा उनले १ ओभरमा २० रन दिएका थिए।
दोस्रो खेलमा डेब्यू गरेका सन्तोष यादवले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। उनले बलिङतर्फ १ ओभरमा ११ रन खर्चिए भने ब्याटिङमा १ रनमै सीमित भए।
टोलीका सिनियर खेलाडी तथा कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेलले सन्तुलित प्रदर्शन गरे। दीपेन्द्रले दुवै खेलमा अविजित रहँदै पहिलो खेलमा ३२ र दोस्रो खेलमा २३ रन बनाए। दोस्रो खेलमा उनले ३ ओभर बलिङ गर्दै १६ रन खर्चिए।
सन्दीप लामिछानेले दुवै खेलमा उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए। ओपनर कुशल भुर्तेलले दोस्रो खेलमा शानदार ब्याटिङ गर्दै ५७ बलमा अविजित ८४ रन बनाएर नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले। पहिलो खेलमा भने उनी १६ रनमै आउट भएका थिए।
लामो समयपछि टी–२० टोलीमा पुनरागमन गरेका कुशल मल्लले ठूलो स्कोर बनाउन नसके पनि क्रिजमा जम्ने प्रयास गरे। उनले पहिलो खेलमा १७ र दोस्रो खेलमा १९ रन बनाए। दोस्रो खेलमा उनले कुशल भुर्तेलसँग ६७ रनको महत्वपूर्ण ओपनिङ साझेदारी गरेका थिए।
आसिफ शेख अनुपस्थित रहँदा पहिलो खेलमा अर्जुन साउद र दोस्रो खेलमा कुशल मल्लले भुर्तेलसँग ओपनिङ गरेका थिए। दोस्रो खेलमा राम्रो सुरुआत भए पनि पहिलो खेलमा नेपालले छिट्टै पहिलो विकेट गुमाएको थियो।
यस सिरिजमा अवसर पाएका अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्सन झा र नन्दन यादवले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। पहिलो खेलमा अर्जुन १३, जोरा ६ र बसिर १४ रनमा आउट भए।
गुल्सन झा र नन्दन यादवले दुवै खेल खेले पनि प्रभाव पार्न सकेनन्। गुल्सनले पहिलो खेलमा १ रन बनाए भने दोस्रो खेलमा १ ओभर बलिङ गर्दै १ रन मात्र खर्चिए। नन्दनले पहिलो खेलमा १३ रन बनाए भने दोस्रो खेलमा एक विकेट लिए पनि महँगो सावित भए।
दोस्रो खेलमा मौका पाएका शाहब आलमले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। पहिलो खेलमा अवसर पाएका बलर शेर मल्लले २ ओभरमा मात्र ७ रन खर्चिएर किफायती बलिङ प्रदर्शन गरे।
समग्रमा, नयाँ कप्तानी र युवा खेलाडीहरूको परीक्षणका हिसाबले यो सिरिज नेपालका लागि मिश्रित परिणामसहित सकारात्मक संकेत दिने खालको देखिएको छ।