नेकपा एमालेले पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको पोस्टरमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर नदेखिएपछि पार्टीभित्र नयाँ राजनीतिक संकेतबारे चर्चा चुलिएको छ।
स्थापना दिवस बुधबार मनाइँदैछ। यसपटकको औपचारिक पोस्टरमा एमालेका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको श्यामस्वेत तस्बिर मात्र समावेश गरिएको छ। पार्टीले परम्परागत रूपमा राख्दै आएका मनमोहन अधिकारी र मदन भण्डारीका तस्बिरसमेत यसपटक हटाइएको छ।
पछिल्ला वर्षहरूमा एमालेका सबै तहका कार्यक्रमहरूमा अध्यक्ष ओलीको तस्बिर अनिवार्य जस्तै बनेको थियो। सभा, सम्मेलनदेखि महाधिवेशनसम्म ओलीको तस्वीर प्रमुख रूपमा प्रयोग हुँदै आएको थियो। तर पछिल्ला घटनाक्रमपछि अवस्था फेरिएको देखिएको छ।
गत भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ पछि ओली सत्ताबाट बाहिरिएपछि पार्टीभित्र उनको प्रभाव र भूमिकाबारे बहस तीव्र बनेको छ। कतिपय नेताहरूले नै अब नेतृत्व विकल्पबारे छलफल गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखिरहेका छन्। यही पृष्ठभूमिमा स्थापना दिवसको पोस्टरबाट ओलीको तस्वीर हटाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
एमालेले २०८० सालमै जारी गरेको परिपत्रमा पार्टी र जनसंगठनका सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अन्य व्यक्तिको तस्बिर प्रयोग नगर्न निर्देशन दिइएको थियो। तर व्यवहारमा भने विगतमा उल्टो अभ्यास देखिँदै आएको थियो।
त्यसैबीच, उक्त कार्यक्रमको पोस्टर मंगलबार सार्वजनिक गर्ने नेताहरूले नै यसपटक ओलीको तस्बिर नराखिएको पुष्टि गरेका छन्, जसले पार्टीभित्र चलिरहेको शक्ति सन्तुलन र नेतृत्व बहसलाई थप सतहमा ल्याइदिएको छ।