जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो ‘विशेष बुलेटिन’ अनुसार पर्सासहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी र तातो लहर (हीट वेभ) को जोखिम बढ्दै गएको छ। विभागले पर्सालाई ‘अद्यावधिक रहने’ सूचीमा राख्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भइसकेको छ। आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम खालको तातो लहर चल्ने सम्भावना रहेको र त्यसको प्रभाव पर्सा लगायत आसपासका जिल्लामा पनि पर्ने अनुमान गरिएको छ।
बुलेटिनमा तातो हावा र लूका कारण जनस्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने उल्लेख गरिएको छ। अत्यधिक थकान र कमजोरी, धेरै तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, खुट्टा बाउँडिने, मांसपेशी दुख्ने तथा बेहोस हुने जस्ता लक्षण देखिन सक्ने चेतावनी दिइएको छ।
बढ्दो गर्मीबाट बच्न महाशाखा र स्वास्थ्य विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, आवश्यक परे मात्र बाहिर निस्कने, हलुका सुतीका कपडा लगाउने र टाउको ढाक्ने, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्ने र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।
यसैबीच पर्सा लगायत मधेशका जिल्लाहरूमा सुख्खा हावा चल्ने र तापक्रम अझै बढ्ने क्रम जारी रहने भएकाले दैनिक ज्यालादारीमा खटिने मजदुर तथा किसानहरूलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले समेत आग्रह गरेको छ।