कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा नेपाल र युएईबीचको टी–२० सिरिज सुरू हुनुअघि भएको राष्ट्रिय गान समारोहमा ठूलो विवाद उत्पन्न भएको छ। युएईको राष्ट्रिय गान गलत बजाइएपछि खेल केहीबेर तनावपूर्ण बनेको हो।
खेलअघि नेपाल र युएई दुवै टोली राष्ट्रिय गानका लागि तयार रहेका बेला सुरुवातमा युएईको सट्टा अर्कै गीत बजाइएको थियो। त्यसपछि युएईका कप्तान मोहमद वासीमले यसलाई आपत्तिजनक भन्दै नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहलाई जानकारी गराएका थिए।
एक मिनेटको अन्तरालपछि पुनः अर्को गीत बजाइए पनि त्यो पनि युएईको राष्ट्रिय गान नभएपछि वासीमले असन्तुष्टि जनाएका थिए। सो क्रममा खेलका कमेन्टेटर एन्ड्रिय लियोनर्डले गलत राष्ट्रिय गान बजेको भन्दै माफी समेत मागेका थिए।
विवादपछि युएईको राष्ट्रिय गान औपचारिक रूपमा बजाइएन र अन्ततः खेल बिना नै सुरू गरिएको थियो।
खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले डेब्यू गरेका छन्। प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिएका धामीले यसै खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, अर्जुन साउद (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्ल, कप्तान दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने र हेमन्त धामी रहेका छन्।
यो सिरिज नेपाल र युएईबीच सन् २०२५ को अक्टोबरपछि पहिलो टी–२० भेट हो। पछिल्लो भिडन्त टी–२० विश्वकप छनोटअन्तर्गत ओमानमा भएको थियो, जहाँ नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो।
सन् २०२३ यता भएका पाँच टी–२० खेलमध्ये नेपालले तीन र युएईले दुई खेल जितेका छन्।
यस सिरिजमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन् भने कुशल मल्ल टोलीमा पुनरागमन गरेका छन्। सन्तोष यादवले भने पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
नेपालले अब आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि मैदानमै युएईसँगै त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ, जसमा ओमान पनि सहभागी हुनेछ। त्यसपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच अर्को सिरिज आयोजना हुने कार्यक्रम रहेको छ।