लामो समयदेखि विवाद र अदालतको प्रक्रियामा रोकिएको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य आज (शनिबार) साँझदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।
त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको २५/२५ मिटर चौडाइमा पर्ने सडक क्षेत्र खाली गर्दै डोजर, जेसीबी र एक्साभेटर परिचालन गरी संरचना हटाउने तयारी गरिएको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ।
कार्यालयका नायब सुब्बा राजकुमार अर्यालका अनुसार मध्यरेखाबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम आज साँझदेखि पाँच स्थानबाट एकैसाथ सुरु गरिनेछ। अभियानका लागि ९ वटा भारी उपकरण वीरगञ्जमा परिचालन गरिएको छ।
यसैबीच, महानगरपालिका, सडक डिभिजन, नापी, विद्युत, टेलिकम, खानेपानी तथा सुरक्षा निकायका प्रमुखहरूबीच आज छलफलपछि संयुक्त रूपमा अभियान अघि बढाइने तयारी गरिएको छ।
१३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको मेनरोड विस्तार विवादमा फागुन २०८१ मा आएको निर्णयले सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि सडक विस्तारका लागि बाटो खुलेको हो।
सरकारको निर्णयअनुसार गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य व्यापारिक मार्ग विस्तार गर्ने योजना पुनः कार्यान्वयनमा आएसँगै वीरगञ्जको पूर्वाधार विकास र ट्राफिक व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको छ।