लायन्स क्लब अफ पोखरियाले नेपाल–भारत सीमाक्षेत्रमा दैनिक उपभोगका साना तथा सामान्य सामग्रीमा समेत भन्सारको नाममा कडाइ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
क्लबका अध्यक्ष नेजामुद्दीन शमानीद्वारा जारी विज्ञप्तिमा सीमावर्ती नागरिकहरूले भारतबाट करिब १०० रुपैयाँ बराबरका सामान्य उपभोग्य सामग्री ल्याउँदा समेत अनावश्यक झन्झट र हैरानी भोग्नुपरेको अवस्था अत्यन्त दुःखद र अन्यायपूर्ण भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा नेपाल–भारतबीचको खुला सीमा केवल भौगोलिक मात्र नभई सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रका नागरिकहरूको दैनिक जीवनयापन साना किनमेल, पारिवारिक सम्बन्ध तथा आवतजावतमा निर्भर रहने यथार्थलाई बेवास्ता गर्नु व्यवहारिक नभएको बताइएको छ।
यस प्रकारका कडाइपूर्ण व्यवहारले सर्वसाधारणमा ‘अघोषित नाकाबन्दी’ जस्तो अनुभूति गराउने अवस्था सिर्जना भएको उल्लेख गर्दै यसले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सद्भावमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ।
क्लबले सम्बन्धित निकायसँग व्यक्तिगत प्रयोजनका लागि साना परिमाणमा ल्याइने सामानमा अनावश्यक भन्सार कडाइ तत्काल अन्त्य गर्न, सीमावर्ती नागरिकको जीवनशैलीअनुसार जनमैत्री तथा व्यवहारिक नीति अवलम्बन गर्न र सीमामा कार्यरत कर्मचारीहरूको व्यवहार सुधार गरी सेवामुखी वातावरण सुनिश्चित गर्न माग गरेको छ।
विज्ञप्तिमा राज्यको प्रमुख दायित्व नागरिकको सहज र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नु भएकाले यस विषयमा यथाशीघ्र संवेदनशील ढंगले समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।