फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेको स्पेनले अफ्रिकी राष्ट्र केप भर्डेसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा हुने यो खेल स्पेनका लागि उपाधि यात्राको पहिलो परीक्षा हुनेछ।
७१ हजार दर्शक क्षमता रहेको रंगशालामा हुने खेलमा स्पेन स्पष्ट रूपमा बलियो देखिए पनि केप भर्डेले पछिल्ला वर्षहरूमा आफूलाई कठिन प्रतिद्वन्द्वीका रूपमा स्थापित गरेको छ। स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले अनुभव र युवा प्रतिभाको सन्तुलित टोली तयार गरेका छन् भने केप भर्डेका प्रशिक्षक बुबिस्टाले अनुशासित र संगठित टोली निर्माण गरेका छन्।
स्पेन पछिल्ला १० खेलमा अपराजित रहँदै विश्वकपमा प्रवेश गरेको छ। तीमध्ये ९ खेलमा उसले पहिलो गोल गरेको तथ्यले टोलीको आत्मविश्वास झनै बलियो देखिन्छ। यता केप भर्डे लगातार तीन खेल जित्दै विश्वकपमा आइपुगेको छ र पछिल्ला पाँचमध्ये चार खेलमा पहिलो हाफमै अग्रता बनाएको थियो।
सम्भावित टोलीअनुसार स्पेनका लागि गोलरक्षक उनाइ सिमोन रहनेछन्। रक्षापंक्तिमा मार्कोस योरेन्ते, पाउ कुबार्सी, आयमेरिक लापोर्ते र मार्क कुकुरेया रहने अपेक्षा गरिएको छ। मध्यपंक्तिमा रोड्री र फाबियान रुइजले खेल नियन्त्रण गर्नेछन् भने फेरान टोरेस, पेड्री र अलेक्स बाएनाले आक्रमणलाई समर्थन गर्नेछन्। अग्रपंक्तिमा मिकेल ओयार्जाबाल रहने सम्भावना छ।
केप भर्डेका लागि गोलरक्षक भोजिन्हा रहनेछन्। रक्षापंक्तिमा स्टेभेन मोरेइरा, पिको, लोगान कोस्टा र डिने बोर्जेस रहने सम्भावना छ। मध्यपंक्तिमा केभिन लेनिनी र डेरोय डुआर्टे रहनेछन् भने रायन मेन्डेस, जामिरो मोन्टेइरो, जोभाने काब्राल र डाइलोन रोचा लिभ्रामेन्टोले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन्।
विशेष नजर स्पेनका युवा स्टार लामिन यामालमाथि रहनेछ। विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक मानिएका यामालले स्पेनको आक्रमणलाई थप धार दिन सक्ने अपेक्षा गरिएको छ। यता केप भर्डेका रक्षक लोगान कोस्टाले स्पेनको आक्रमण रोक्ने चुनौती सामना गर्नेछन्।
बुकमेकरहरूको अनुमानअनुसार स्पेन जितको प्रमुख दाबेदार छ। तथापि विश्वकपमा कुनै पनि टोलीलाई कमजोर आँक्न नसकिने भएकाले केप भर्डेले आश्चर्यजनक नतिजा निकाल्न सक्ने सम्भावना पनि कायम छ।
विश्वकप इतिहासमा पहिलोपटक आमनेसामने हुन लागेका यी दुई टोलीबीचको प्रतिस्पर्धाले समूह ‘एच’ को समीकरणमा प्रारम्भिक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्पेन सहज सुरुआतको लक्ष्यमा हुनेछ भने केप भर्डे विश्व फुटबललाई चकित पार्ने योजनासहित मैदान उत्रिनेछ।