अब बजारमा प्रशोधित पिउने पानी किन्न उपभोक्ताले थप मूल्य तिर्नुपर्ने भएको छ, उद्योग नै धान्न गाह्रो परेपछि पानी उद्योगीहरू मूल्य बढाउन बाध्य बनेका छन्।
नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ। कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले यस्तो निर्णय गरेको हो।
महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार र जार क्यापलगायतका कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको जनाएको छ। साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको उल्लेख गरिएको छ।
पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थितिहरू—विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार तथा आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक अवस्था हो। उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्तिका लागि लागतअनुसार मूल्य समायोजन गर्नु अपरिहार्य बनेको छ।”
महासंघले सरकारसँग उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न तथा ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेको छ। महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उपभोक्ता, वितरक तथा सरोकारवाला निकायलाई परिस्थिति बुझिदिन र सहयोग गर्न अपिल गरिएको छ।