नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा सरकारमाथि तीव्र प्रश्न र आरोपको वर्षा गरेका छन्।
बिहीबार संसद्मा बोल्दै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई अवैधानिक भएको दाबी गर्दै त्यसको पछाडि रास्वपाको अघोषित नेतृत्व रहेको आरोप लगाए। साथै, उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘जादुमय’ भन्दै त्यसमा आन्तरिक र बाह्य शक्तिहरूको भूमिका रहेको संकेत गरे।
बादलले सिंहदरबार, शीतल निवास, बालुवाटार र सर्वोच्च अदालतजस्ता संवेदनशील संरचनाहरूमा भएको आक्रमण र आगजनीबारे सरकारसँग स्पष्ट जवाफ मागे। “कुन उद्देश्यका लागि ती संरचनाहरू जलाइए? हतियारधारी समूहहरू कसरी देखा परे?” उनले प्रश्न गरे।
त्यसैगरी, पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीको गिरफ्तारी, देशव्यापी दमन, र नागरिक अधिकारमाथि अंकुश लगाइएको आरोप लगाउँदै उनले सरकारको कदमप्रति आपत्ति जनाए। विद्यार्थी र पेशाकर्मीहरूको संगठित हुने अधिकार खोसिएको तथा मिडिया ट्रायलको वातावरण सिर्जना गरिएको उनको भनाइ थियो।
उनले अदृश्य शक्तिहरू, एआई र एल्गोरिदममार्फत जनमत प्रभावित पारिएको दाबी गर्दै राष्ट्रिय राजनीति अस्वाभाविक दिशामा धकेलिएको टिप्पणी गरे।
साथै, फागुन २१ को निर्वाचन र त्यसपछिका घटनाक्रमलाई उल्लेख गर्दै उनले ‘नीलो क्रान्ति’ लाई वैधानिकता दिइएको दाबी गरे र प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाईसमेत दिए।
बादलले उठाएका प्रश्नहरूको जवाफ भविष्यले दिने उल्लेख गर्दै एमालेले यी विषयमा संसद्मा निरन्तर आवाज उठाइरहने बताए।