पर्सा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज कुमार चौधरीसँग सम्बन्धित घटनाबारे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी पर्साको आयोजनामा बसेको सर्वदलीय बैठकले उक्त घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। विज्ञप्तिमा चौधरीलाई असल, मिलनसार तथा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ।
विज्ञप्ति अनुसार, २०८२ फागुन १९ गते साँझ वीरगञ्ज फर्किने क्रममा सुरक्षा जाँचका बेला चौधरी सवार गाडीको डिकीबाट शंकास्पद वस्तु फेला परेको भन्दै उनीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर १६ दिनसम्मको अनुसन्धानपछि पनि उक्त वस्तुको प्रकृति, स्रोत र उद्देश्यबारे स्पष्ट हुन नसकेको भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन्।
राजनीतिक व्यक्तित्व र प्रतिनिधिसभा उम्मेदवारकै गाडीमा विस्फोटक पदार्थ फेला पर्नु अस्वाभाविक देखिने उल्लेख गर्दै विज्ञप्तिमा यस घटनामा षड्यन्त्रको आशंका गरिएको छ। साथै, घटनाको भोलिपल्ट अर्को स्थानमा फेला परेको वस्तुसँग जोडेर घटनालाई जटिल बनाउने प्रयास भइरहेको संकेत गरिएको छ।
दलहरूले अनुसन्धान लम्ब्याएर मनोवैज्ञानिक दबाब सिर्जना गरी निर्दोष व्यक्तिहरूलाई फसाउने प्रयास भइरहेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले ढिलाइ नगरी निष्पक्ष छानबिन गरी यथाशीघ्र न्यायिक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
“ढिलो गर्नु न्याय नदिनु सरह हो,” विज्ञप्तिमा उल्लेख गर्दै अविलम्ब घटना प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्न माग गरिएको छ। साथै, आफ्नो सदासयतालाई कमजोरी नठान्न चेतावनी दिँदै अन्यथा अवस्था सिर्जना भए थप कदम चाल्न बाध्य हुने पनि जनाइएको छ।
उक्त विज्ञप्तिमा नेपाली काँग्रेसका रामनारायण कुर्मी, नेकपा (एमाले) का सुन्दर कुर्मी, जसपा नेपालका रामनरेश यादव, जसपाका तबरेज अहमद, जनमत पार्टीका ओमप्रकाश सर्राफ, प्रलोपाका अभिताभ बचन दास, राप्रपाका पन्नालाल पटेल, राष्ट्रिय जनमोर्चाका हिमाल चन्द्र गौतम, वैज्ञानिक समाजवादी पार्टीका धनबहादुर श्रेष्ठ, पिपुल फस्ट पार्टीका बिरेन्द्र कण्ठ तथा नेपाली कम्युनिष्ट पार्टीका बालगोपाल थापा र रामदरश कुशवाहाले हस्ताक्षर गरेका छन्।
यसैबीच, दलका प्रतिनिधिहरूले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेट गरी घटनाबारे छलफल गरेका छन्। उक्त छलफलमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकलगायतको उपस्थिति रहेको थियो।
