अफ्रिकी फुटबल महासंघ (काफ) ले २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) फाइनलको नतिजा उल्टाउँदै मोरोक्कोलाई आधिकारिक विजेता घोषणा गरेको छ। सेनेगलले जितेको फाइनल खेल विवादमा परेपछि काफको अपिल समितिले यस्तो निर्णय गरेको हो।
गत जनवरी १८ मा सम्पन्न फाइनलमा सेनेगलले अतिरिक्त समयमा १–० ले जित निकालेको थियो। तर खेलको अन्त्यतिर मोरोक्कोलाई इन्जुरी समयमा पेनाल्टी दिइएपछि सेनेगलका खेलाडीहरूले मैदान छाडेका थिए। करिब १७ मिनेटपछि मात्र उनीहरू फर्किएका थिए।
खेल पुनः सुरु भएपछि मोरोक्कोका ब्राहिम डियाजको पेनाल्टी सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीले बचाएका थिए। त्यसपछि अतिरिक्त समयमा पापे गुएयेले गोल गर्दै सेनेगललाई जित दिलाएका थिए।
तर काफले सेनेगलको व्यवहार नियमविपरीत ठहर गर्दै फाइनल खेल ‘फोरफिट’ गरिएको घोषणा गरेको छ। यससँगै खेलको नतिजा मोरोक्कोको पक्षमा ३–० ले कायम गरिएको छ।
काफका अनुसार सेनेगलले प्रतियोगिताको नियमावलीको धारा ८२ उल्लंघन गरेको छ, जसअनुसार कुनै टोलीले रेफ्रीको अनुमति बिना खेल छाडेमा हार व्यहोर्नुपर्छ। धारा ८४ अनुसार यस्तो अवस्थामा टोली स्वतः प्रतियोगिताबाट बाहिरिन्छ र खेल ३–० ले विपक्षीको पक्षमा जान्छ।
यता सेनेगल फुटबल महासंघले भने उक्त निर्णयलाई “अन्यायपूर्ण, अभूतपूर्व र अस्वीकार्य” भन्दै खेलकुद मध्यस्थता अदालत (CAS) मा अपिल गर्ने जनाएको छ।
मोरोक्को फुटबल महासंघ (FRMF) ले भने आफूहरूले खेलको प्रदर्शनमाथि प्रश्न उठाएको नभई नियमको कार्यान्वयनका लागि मात्र अपिल गरेको जनाएको छ।
फाइनल खेलमा रेफ्री जीन ज्याक न्दालाले इन्जुरी समयको आठौँ मिनेटमा मोरोक्कोलाई पेनाल्टी दिएका थिए। भिडियो सहायक रेफ्री (VAR) को सल्लाहमा डिफेन्डर एल हाजी मालिक डिओफको चुनौती पुनरावलोकन गरेपछि पेनाल्टी दिइएको थियो।
त्यसअघि सेनेगलका इस्माइला सारको गोल अमान्य ठहर भएपछि प्रशिक्षक पापे थियाव असन्तुष्ट बनेका थिए र टोलीलाई मैदान छाड्न निर्देशन दिएका थिए। यद्यपि, खेलपछि उनले आफ्नो निर्णय “भावनात्मक प्रतिक्रिया” भएको स्वीकार गरेका थिए।
यस घटनापछि मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुईले सेनेगलको व्यवहारलाई “लज्जास्पद” भन्दै आलोचना गरेका थिए। फिफा अध्यक्ष जियानी इन्फान्तिनोले पनि उक्त घटनालाई “अप्रिय दृश्य” भन्दै निन्दा गरेका थिए।
फाइनलको नतिजा उल्टिए पनि खेलका दौरान भएका घटनाले समर्थकहरूको भावनामा गहिरो प्रभाव पारिसकेको विश्लेषकहरू बताउँछन्।