नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मनोज चौधरी दुई सातादेखि प्रहरी हिरासतमा छन् ।
उनी पर्सा २ मा पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकै बेला प्रहरीको नियन्त्रणमा परेका थिए । भर्खरै सम्पन्न चुनावको पूर्वसन्ध्यामा उनी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको आरोपमा पक्राउ परेका थिए ।
चौधरी आवद्ध राजनीतिक दल यस विषयमा मौन देखिए पनि अहिले चौधरीलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको भन्दै नागरिकस्तरबाट आवाज उठ्न थालेको छ । राजनीतिक र अन्य सरोकारका व्यक्तिहरुले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत चौधरी पक्राउको घटनाबारे चासो व्यक्त हुन थालेको हो । दीपेन्द्र सिंह पटेल नाममा फेसबुक प्रयोगकर्ताले मनोज चौधरी हिरासतमा बसेको १३ दिन पुगिसक्दा उनी आवद्ध दलको स्थनीयदेखि केन्द्रीय धारणा नआएको भन्दै यो मौनताको कारण सोधेका छन् । उनले यो प्रश्न अब कार्यकर्ता र जनतामाफ गम्भीर रुपमा उठ्न थालेको दाबी पनि गरेका छन् ।
गत फागुन १९ गते राति उनी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर, लामो समयसम्म पनि अनुसन्धानकै नाममा हिरासतमा राखिएको भन्दै निष्पक्ष छानबिनको माग हुन थालेको छ । प्रहरीले उनी ३ थान बमसहित पक्राउ गरेको दाबी गरेको छ । उनीसँगै अन्य ३ जना पनि पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका नागरिक अगुवा राकेश यादवले मनोज चौधरीलाई आफूले विद्यार्थी नेताको रूपमा चिनेको र उनी बम राखेर हिँड्ने व्यक्ति नभएको दाबी गरेका छन्। राज्यले घटनाबारे छिटो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
वीरगञ्जका अधिवक्ता सुरेन्द्र कुर्मीले मनोज चौधरी बम बनाउने वा पड्काउने किसिमका व्यक्ति नभएको दाबी गरेका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय नेता भएको कुर्मीले बताएका छन् । जसपा नेपालका केन्द्रीय सदस्य कुर्मीले चौधरीजस्ता विद्यार्थी राजनीतिबाट उदाएका नेताले आफ्नै गाडीमा बम राखेर हिँड्न नसक्ने दाबी पनि गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिनको माग गरे । पर्साका प्रहरी उपरिक्षक सुदीप पाठकले अनुसन्धान भइरहेको बताएका छन् ।