जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले ‘संघर्षको राजनीति’ भने निरन्तर जारी राख्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने।”
उनले आफू संसदीय अर्थात् पदको राजनीतिबाट टाढा रहने स्पष्ट पार्दै यसलाई राजनीतिबाट अलग हुने अर्थमा नलिन आग्रह गरेका छन्। “म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु, तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन,” उनले लेखेका छन्।
राउतले राजनीति क्षेत्रमा सक्रिय रहँदै आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अघि बढाउने र जनताको सेवामा रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएको दल हो। उक्त निर्वाचनमा पार्टी राष्ट्रिय दल बन्न सफल भएको थियो। प्रत्यक्षतर्फ अध्यक्ष राउत आफैं निर्वाचित भएका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर जनमत पार्टीले पाँच सिट प्राप्त गरेको थियो।
तर २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा भने जनमत पार्टीले एक सिट पनि जित्न सकेन। सप्तरी–२ बाट चुनाव लडेका अध्यक्ष राउत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादवसँग पराजित भएका थिए। प्रत्यक्षतर्फ अन्य उम्मेदवारले पनि जित हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ पनि पार्टीले थ्रेसहोल्ड कटाउन सकेन।
राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार पार्न सक्रिय रहने बताएका छन्। उनले जनमत पार्टीलाई आउँदो स्थानीय तह र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले आफू सधैं जनताको बीचमै रहने, हरेक संघर्ष र आन्दोलनमा खडा हुने तथा अधिकार र पहिचानको लडाइँमा निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन्।
यसैबीच उनले आफू जनमत पार्टीको अध्यक्ष पनि व्यक्तिगत इच्छाविपरीत बनेको बताएका छन्। सरकारले कुनै काम गर्न नदिएको र जनतामाझ जानसमेत रोक लगाएपछि पार्टी खोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
पार्टी गठनका क्रममा नरेन्द्र प्रसाद चौधरीसहितका नेताहरूलाई अध्यक्ष बन्न आग्रह गरेको तर उनीहरूले अस्वीकार गरेपछि आफूले नै नेतृत्व सम्हाल्नुपरेको उनले उल्लेख गरेका छन्।
त्यस्तै उनले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको दाबी गरेका छन्। २०७९ को निर्वाचनमा विजयी भएका राउत यसपटक भने पराजित भएका छन्।