धरानमा बसेको केन्द्रीय समिति बैठकले श्रम संस्कृति पार्टीका तर्फबाट समानुपातिक प्रतिनिधित्वका लागि चार जनाको नाम टुंगो लगाएको छ।
श्रम संस्कृति पार्टी ले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ।
धरानमा आइतबार बसेको केन्द्रीय समिति बैठकले चार जनाको नाम तय गरेको पार्टीका प्रवक्ता सत्य घले ले जानकारी दिए। उनका अनुसार बैठकले टुंगो लगाएको नाम निर्वाचन आयोग मा पठाइनेछ।
पार्टीले समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट पूर्ण लिम्बू (सुनसरी), मधेसी क्लस्टरबाट रुवीकुमारी ठाकुर (धनुषा), खसआर्य क्लस्टरबाट अम्बिकादेवी संग्रौला (सुनसरी) र दलित क्लस्टरबाट राधिका रम्तेल (सुर्खेत) को नाम तय गरेको हो।
आदिवासी जनजाति क्लस्टरबाट छनोट भएका पूर्ण लिम्बू बृटिस गोर्खाका भूपू सैनिक क्याप्टेन हुन्। उनको नाम पार्टी अध्यक्ष हर्क साम्पाङ ले आइतबार बिहानै एक कार्यक्रममार्फत सार्वजनिक गरेका थिए।
धनुषाकी रुवीकुमारी ठाकुर ‘जेन–जी’ समूहकी प्रतिनिधि हुन्। पार्टीले युवा पुस्तालाई पनि समेट्ने उद्देश्यले मधेसी महिलाबाट ठाकुरलाई चयन गरेको अध्यक्ष साम्पाङले बताए।
समानुपातिकतर्फ महिला कार्यकर्ताहरूको सांसद बन्ने आकांक्षा धेरै देखिएकाले सीमित सिटमा समेट्न पार्टीलाई कठिन भएको बताइएको छ। यसअघि आदिवासी महिला क्लस्टरमा मन्दिरा मोक्तान (मकवानपुर), आशा लामा (काठमाडौं) र समला राई (सुनसरी) को नाम चर्चामा थियो।
पुरुषतर्फ खसआर्य क्लस्टरमा दृष्टि सम्बन्धी अपाङ्गता भएका जीवन विष्ट (मोरङ) सँग भद्र सहमति भएपछि अन्ततः क्याप्टेन पूर्ण लिम्बूको नाम सिफारिस गरिएको हो।
निर्वाचन आयोगले तोकेका क्लस्टर मिलाउँदै समानुपातिक सूची तयार गर्दा सिट कम तर आकांक्षी धेरै भएकाले बन्द सूचीभित्र रहेका उम्मेदवारमध्येबाट नाम टुंग्याउन अध्यक्ष साम्पाङलाई केही कठिनाइ भएको पार्टीले जनाएको छ।