फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पर्सा जिल्लामा सभ्य, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएको जनाउँदै जिल्ला प्रशासन कार्यालयले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति कृतज्ञता व्यक्त गरेको छ।
पर्सा जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ।
जिल्ला सुरक्षा समिति पर्साको निर्णयअनुसार निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलद्वारा हस्ताक्षरित औपचारिक विज्ञप्ति जारी गर्दै प्रशासनले निर्वाचन सफल बनाउन भूमिका खेल्ने विभिन्न निकाय तथा व्यक्तिहरूको योगदानको प्रशंसा गरेको हो।
विज्ञप्तिअनुसार निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन खटिएका जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका कर्मचारीहरूलाई प्रशासनले विशेष आभार व्यक्त गरेको छ।
यसैगरी निर्वाचन प्रक्रियामा सहभागी राजनीतिक दल, उम्मेदवार, नागरिक समाज तथा सामाजिक अगुवाहरूको सहयोगको पनि प्रशंसा गरिएको छ।
सूचना प्रवाहका माध्यमबाट निर्वाचनसम्बन्धी जानकारी आम नागरिकसम्म पुर्याउने सञ्चारकर्मी, विभिन्न पेसामा आबद्ध पेसाकर्मी, उद्योगी तथा यातायात व्यवसायीहरूको योगदानलाई पनि प्रशासनले कदर गरेको छ।
सीमावर्ती क्षेत्रमा समन्वय कायम गर्न सहयोग गर्ने समकक्षी विदेशी पदाधिकारीहरूप्रति समेत प्रशासनले धन्यवाद व्यक्त गरेको छ।
जिल्ला प्रशासन कार्यालयले यसपटकको निर्वाचन प्रक्रिया पारदर्शी, सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण पर्सा जिल्लावासी तथा सरोकारवालाहरूप्रति जिल्ला सुरक्षा समितिको निर्णयानुसार हार्दिक धन्यवाद ज्ञापन गर्दछु।”
