फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत देखिएको छ। निर्वाचन आयोगले चैत पहिलो सातासम्म राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेसँगै बालेन शाह कहिले प्रधानमन्त्री बन्छन् भन्ने चासो बढेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रत्यक्षतर्फ १६५ सिटको परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।
हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरेको छ। समानुपातिकतर्फ जारी मतगणनामा पनि करिब ४८ प्रतिशत मत रास्वपाको पक्षमा परेको छ। यस आधारमा समानुपातिकबाट थप करिब ५८ सिट रास्वपाले पाउने अनुमान गरिएको छ।
निर्वाचन परिणामले रास्वपाको स्पष्ट बहुमत देखाएपछि बालेन शाह कहिले प्रधानमन्त्री बन्छन् र नयाँ सरकार कहिले गठन हुन्छ भन्ने चासो बढेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले प्रतिनिधिसभा निर्वाचनको पूर्ण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउनेछ। त्यसपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बाटो खुल्नेछ।
उनका अनुसार प्रतिवेदन बुझाउनुअघि आयोगले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी छ। समानुपातिक मतगणना सकिएपछि दलहरूले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरिन्छ। त्यसपछि राजनीतिक दलहरूलाई ती सिटमा मनोनयन गर्ने सांसदहरूको सूची मागिन्छ।
उक्त सूची विभिन्न ‘क्लस्टर’ अनुसार मिलेको छ वा छैन भन्ने जाँच गरिन्छ। क्लस्टर मिलाउने भनेको समानुपातिक प्रणालीअन्तर्गत दलहरूले प्राप्त सिटमा विभिन्न लिंग, जाति र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु हो।
उदाहरणका लागि, संसदमा हरेक दलले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। ती महिलामध्ये दलित, मधेसी, जनजाति, खसआर्यलगायत समूहबाट प्रतिनिधित्व भएको छ वा छैन भन्ने पनि आयोगले जाँच गर्नेछ।
सबै प्रक्रिया पूरा भएपछि आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्नेछ। त्यसपछि मात्र प्रतिनिधिसभा निर्वाचनको पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिनेछ।
प्रवक्ता भट्टराईका अनुसार यो प्रक्रिया पूरा गर्न चैत पहिलो सातासम्म समय लाग्नेछ। त्यसपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
यस आधारमा सरकार गठनको प्रक्रिया सुरु भएपछि रास्वपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्नेछ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।
त्यसैले संसदीय दलको नेतामा बालेन शाह चयन हुने लगभग निश्चित मानिएको छ। रास्वपाले उनलाई संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।
निर्वाचन आयोगको प्रक्रिया र दलको आन्तरिक निर्णयका आधारमा बालेन शाह चैत दोस्रो सातातिर प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको छ।