बजारमा खाना पकाउने एलपी ग्यासको अभावबारे गुनासो बढिरहेपछि नेपाल आयल निगमले ग्यास उद्योगीहरूसँग छलफल गर्दै आपूर्ति र वितरण प्रणाली पारदर्शी तथा व्यवस्थित बनाउन नयाँ निर्देशन जारी गरेको छ।
नेपाल आयल निगम र ग्यास उद्योगीबीच बजारमा देखिएको एलपी ग्यास अभावबारे छलफल भएको छ। अभावको समस्या अझै समाधान हुन नसकेपछि निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज, पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार छलफलका क्रममा उद्योगीहरूले ग्यास आपूर्तिमा समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताएका थिए।
उनका अनुसार निगमले उद्योगहरूलाई तोकिएको क्षमता अनुसार निरन्तर ग्यास आयात गरी बजारमा पठाउन निर्देशन दिएको छ। साथै उद्योगहरूले दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी ग्यास विक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरे भन्ने विवरण फोन नम्बर सहित अभिलेख राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
निगमले ग्यास वितरण गर्दा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकता दिनुपर्ने निर्देशन दिएको छ। होटल तथा व्यावसायिक क्षेत्रभन्दा पहिले सर्वसाधारण उपभोक्तालाई ग्यास उपलब्ध गराउनुपर्ने र व्यावसायिक प्रयोजनका लागि पठाइएको ग्यासको छुट्टै अभिलेख राख्न पनि भनिएको छ।
प्रवक्ता ठाकुरका अनुसार छिमेकी भारतले घरायसी उपभोक्ताका लागि २५ दिनमा एउटा मात्र सिलिन्डर दिने नियम लागू गरेको भए पनि नेपालमा त्यस्तो समस्या नरहेको र मागअनुसार ग्यास आयात भइरहेको छ।
“नेपालको वार्षिक ग्यास खपत भारतको एक दिनको खपत जति मात्रै भएकाले आपूर्तिमा कुनै समस्या छैन,” उनले भने, “केवल वितरण प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक छ।”
उद्योगीहरूसँग भ्याट बिल र गाडी ट्र्याकिङ प्रणाली भएकाले अब कुन विक्रेताले कति ग्यास प्राप्त गर्यो र कसलाई बेच्यो भन्ने विषयमा सूक्ष्म अनुगमन गरिने निगमले जनाएको छ।
कतिपय विक्रेताले आफ्ना नियमित वा पुराना ग्राहकलाई मात्र प्राथमिकता दिँदा नयाँ र आपतकालीन अवस्थाका उपभोक्ताले ग्यास नपाएको गुनासो आएकाले सबैलाई समान रूपमा वितरण गर्न पनि निर्देशन दिइएको छ।
निगमका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि बजारमा देखिएको कृत्रिम अभाव हट्ने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।