काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना न्यौपानेले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतान्तरले जित हात पारेकी छन्। कम मत ल्याएका अधिकांश उम्मेदवारले भने कानुनी प्रावधानअनुसार जमानत गुमाउने भएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने फराकिलो मतान्तरसहित विजयी भएकी छन्। उनले १५ हजार ४ सय ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल ४८ हजार ४ सय ८९ मतदाता रहेका थिए। तीमध्ये करिब २८ हजार मत खसेको थियो। जमानत जोगाउन खसेको सदर मतको कम्तीमा १० प्रतिशत अर्थात् करिब २ हजार ८ सय मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ।
उक्त प्रावधानअनुसार नेकपा एमालेका उम्मेदवार मोहनराज रेग्मी सहित अन्य २६ उम्मेदवारको जमानत जफत हुने भएको छ। रेग्मीले १ हजार ६ सय १८ मत मात्र प्राप्त गरेका छन्।
यसैगरी उज्यालो नेपाल पार्टीका मोहनराज रेग्मी, श्रम संस्कृति पार्टीका समिर तामाङ लामा, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीलगायत उम्मेदवारले पनि आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत गुमाउने देखिएको छ।
नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दिएका अर्जुनबहादुर शाहीले शून्य मत प्राप्त गरेका छन्। त्यस्तै राजु भुजेल, शान्ति श्रेष्ठ र संगीत बम्मले एक–एक मत मात्र प्राप्त गरेका छन् भने राजकुमार लिम्बु, कमल सुवेदी, किरण शाह र रमेशप्रसाद जोशीले दुई–दुई मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका–२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने प्रावधान रहेको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा देशभर नेकपा एमाले र नेपाली कांग्रेसका एक–एक तथा तत्कालीन नेकपा माओवादी केन्द्रका दुई उम्मेदवारको जमानत जफत भएको थियो। यसपटक भने विभिन्न स्थानमा प्रतिस्पर्धा बढेकाले ठूलो संख्यामा उम्मेदवारको जमानत जफत हुने देखिएको छ।