२१ वर्षकै उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर राष्ट्रिय चर्चा कमाएकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। वैकल्पिक राजनीतिको वकालत गर्दै सक्रिय रहँदै आएकी उनले यसपटक काठमाडौं–१ बाट उल्लेख्य मतसहित विजय हासिल गरेकी हुन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रञ्जु दर्शना १५ हजार ४५५ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ३ हजार ९७२ मत ल्याएर तेस्रो भए।
रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा परिचित बनेकी व्यक्तित्व हुन्। उनी १७ वर्षको उमेरमै २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भई सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन्।
त्यस समयमा विभिन्न राजनीतिक दलहरूले गर्ने बन्द–हड्तालका कारण सर्वसाधारणले सास्ती पाएको भन्दै रञ्जु सडक आन्दोलनमा सक्रिय बनेकी थिइन्। उनको सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ समेत सञ्चालन गरिएको थियो।
राजनीतिक गतिविधिसँगै उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहिन्। २०७२ सालको महाभूकम्पपछि राहत तथा पुनर्स्थापनाको काममा उनले योगदान दिएकी थिइन्। त्यस्तै डा. गोविन्द केसीले भ्रष्टाचारविरुद्ध गरेको अनसनका क्रममा पनि रञ्जु सहयोगी भूमिकामा देखिएकी थिइन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन्। ‘काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी उनले २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्। उक्त निर्वाचनमा नेकपा एमालेका विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए।
२०७८ सालमा विवेकशील नेपाली पार्टीभित्र आन्तरिक विवाद बढेपछि रञ्जुले पार्टीबाट राजीनामा दिएकी थिइन् र केही समय स्वतन्त्र रूपमा सक्रिय रहिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवारी दिए पनि उनले करिब ६०० मत मात्र प्राप्त गरेकी थिइन्।
पछि २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी पार्टीको केन्द्रीय सदस्य बनेकी थिइन्। यसपटक सोही पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएर उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जुले स्नातक तहसम्म अध्ययन गरेकी छन्।