आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने जनाएको छ।
आइतबार जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सेनाले प्रदान गर्ने सुरक्षाबारे जानकारी गराएको हो।
निर्वाचनको सुरक्षा व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार सञ्चालन भइरहेको छ। सोही योजनाअनुसार सेना निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रतिबद्ध रहेको निर्देशनालयले जनाएको छ।
योजनाअनुसार सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंबाट देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी तथा निर्वाचन अवधिभर तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ।
निर्वाचनका क्रममा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र त्यसपछि तेस्रो घेरामा नेपाली सेना परिचालन हुने जनाइएको छ।
साथै, निर्वाचन अधिकृत तथा राजनीतिक दलका तोकिएका प्रतिनिधिहरूसहित नेपाली सेनाको टोली खटिएर मतदान सम्पन्न भएपछि मतपेटिका गणनास्थलसम्म सुरक्षित ढुवानी गर्ने व्यवस्था मिलाइने पनि विज्ञप्तिमा उल्लेख छ।
सेनाले २०४८ सालदेखि नै विभिन्न निर्वाचनमा परिचालन भई सुरक्षा प्रदान गर्दै आएको पनि स्पष्ट पारेको छ।
