प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले पर्सा क्षेत्र नम्बर–१ मा घरदैलो अभियान तीव्र बनाएका छन्। शनिबार वीरगञ्ज महानगरपालिका–३० को लालपर्सा र प्रसोतीपुरमा आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रममा सयौँ स्थानीय मतदाताले उनलाई फूलमाला र गम्छा ओढाएर स्वागत गरे।
पूर्व मन्त्री समेत रहेका यादवले मतदातासँग संवाद गर्दै आफ्नो विगतका दुई संसदीय कार्यकालमा क्षेत्रको विकासमा गरेका कामको मूल्याङ्कन गर्न आग्रह गरे। उनले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर, मस्जिदहरूको हालत के थियो ? म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैँ देख्न सक्नुहुन्छ।”
यादवले आफूलाई क्षेत्रका हरेक टोल र समस्यामा पूर्ण जानकारी भएको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै अन्य प्रतिद्वन्द्वीहरूलाई यहाँका टोलहरूको नामसमेत नथाहा हुन सक्ने टिप्पणी गरे। उनले नेकपा (एमाले) को राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि र समाजवादी उन्मुख विकासको एजेन्डा आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा लिएको जानकारी दिएका छन्।
उहाँले मतदातालाई चेतावनी दिँदै भने, “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन्। म सधैं जनताको सुख–दुखमा साथी बनेर बस्छु।”
यादवले गरिबी निवारण, रोजगारी सृजना, सांस्कृतिक संरक्षण, युवा बेरोजगारी घटाउने, महिला सशक्तीकरण, कृषि तथा पर्यटन विकास, स्थानीय उद्योग स्थापना जस्ता एजेन्डा प्रस्तुत गर्दै सूर्य चुनाव चिन्हमा मतदान गरी एमाले उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे।
पूर्व सांसद यादवले सडक निर्माण, विद्यालय र अस्पताल भवन, मन्दिर–मस्जिद–धर्मशाला, मसान घाट निर्माण, खानेपानी समस्या समाधान, सिँचाइ, बिजुली विस्तार जस्ता काम गरेका दाबी गरे। साथै संसद्मा पटक–पटक पर्साका समस्या उठाएको पनि स्मरण गराए।
कार्यक्रममा सहभागी स्थानीयहरूले उठाएका समस्यामा तत्काल सम्बोधन गर्ने आश्वासन दिएका यादवले देशको राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै, वैदेशिक हस्तक्षेपबाट संविधान, सङ्घीयता र राष्ट्रिय अखण्डता जोगाउन एमाले नेतृत्वको आवश्यकता रहेको जोड दिए।
कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ता, युवा, महिला र ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।