प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।
वीरगञ्ज महानगरपालिका–हरपतगन्जमा आयोजित कोणसभामा उनले मतदातासमक्ष आफ्नो एजेन्डा प्रस्तुत गर्दै पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरे। उनले विगतका सरकारले जनअपेक्षाअनुसार काम नगरेको आरोप लगाउँदै भने, “पुरानै राजनीतिक शैलीबाट देशको समुचित विकास सम्भव छैन। नयाँ सोच, स्पष्ट भिजन र जनउत्तरदायी नेतृत्व आवश्यक छ। रास्वपा त्यसैका लागि चुनावी मैदानमा उत्रिएको हो।”
पन्तले मतदातालाई यसपटक मत परिवर्तनमार्फत देशमा ठोस परिवर्तनको आधार तयार गर्न आग्रह गरे। “जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धतासहित हामी अघि बढेका छौं,” उनले दोहोर्याए।
कार्यक्रममा स्थानीय वक्ताहरूले घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउने प्रतिबद्धता जनाए। उनीहरूले क्षेत्रीय विकास, रोजगारी सिर्जना र सुशासनका लागि पन्त उपयुक्त विकल्प भएको दाबी गरे।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा पनि रास्वपाले कोणसभा सम्पन्न गरेको थियो। पार्टीका संयोजक युवराज पटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सभापति तथा उम्मेदवार हरि पन्त प्रमुख अतिथिका रूपमा सहभागी भए।
पन्तले पुराना दलका नीतिका कारण युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै रास्वपाको विजयले मात्रै औद्योगिक पुनर्जागरण सम्भव हुने बताए। “वीरगञ्जका पुराना चिनी कारखानालगायत बन्द उद्योग पुनः सञ्चालन गर्ने स्पष्ट भिजन हामीसँग छ,” उनले भने।
शुक्रबार बिहान उनले वीरगञ्ज महानगरपालिका–१५ भेडिआहीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए। स्थानीयले यसपटक पन्तलाई संसद्मा पुर्याउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्।
कार्यक्रमका क्रममा नेकपा (एमाले) का कार्यकर्तासँग सामान्य तनाव उत्पन्न भए पनि नेता–कार्यकर्ताको सुझबुझ र सुरक्षाकर्मीको सक्रियताबाट सम्भावित भिडन्त टरेको बताइएको छ।
हरि पन्तले घरदैलो, टोलसभा र युवाकेन्द्रित अन्तरक्रियामार्फत मतदातासँग प्रत्यक्ष संवाद बढाउने रणनीति लिएका छन्। पर्सा–१ मा पुराना दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा तीव्र बन्दै गर्दा पन्तको सक्रियता रास्वपाको चुनावी अभियानलाई उकालोमा पुर्याइरहेको छ।