पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरमा नेपाली कांग्रेसद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दा र करिब दुई सयभन्दा बढी युवायुवती तथा क्षेत्रीय अगुवाहरूले पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा–१ का प्रतिनिधि सभा उम्मेदवार अनिल रुङटाले अब जनता राजनीतिक रूपमा परिपक्व भइसकेको दाबी गर्दै, विगतका चुनावमा भएका कमजोरीबाट पाठ सिकेर यसपटक सही नेतृत्व चयन हुने विश्वास व्यक्त गरे। “जनता अब नझुक्किने अवस्था आइसकेको छ, परिवर्तनको पक्षमा मतदान हुनेछ,” उनले भने।
रुङटाले पर्सा क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्ययोजना अघि सार्ने प्रतिबद्धता जनाए। दैनिकजसो भइरहेका पार्टी प्रवेश र बढ्दो जनसमर्थनले कांग्रेसको जित सुनिश्चिततर्फ उन्मुख रहेको उनले बताए।
कार्यक्रममा नवप्रवेशीहरूलाई रुङटाले अबीर र खादा लगाएर स्वागत गरे। नवप्रवेशीहरूले देशमा स्थिरता, विकास र लोकतान्त्रिक मूल्य संरक्षणका लागि नेपाली कांग्रेस रोजेको बताएका थिए।
रामनारायण साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय कुमार द्विवेदी, प्रकाश उपाध्याय, बरुसुदिन अन्सारी, नेपाल मुस्लिम संघका अध्यक्ष हबिब मिया, अरबिन्द गुप्ता र किरण सरकार लगायत नेताहरूको उपस्थिति रहेको थियो।
आयोजकहरूले कार्यक्रमले परवानीपुर क्षेत्रमा कांग्रेसप्रतिको आकर्षण र जनसमर्थन अझ सुदृढ बन्दै गएको संकेत गरेको बताएका छन्।