पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका वडा नं. ३१, बेल्वामा शुक्रबार व्यापक घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गर्दै चुनावी अभियानलाई तीव्रता दिएका छन्।
घरदैलोका क्रममा रुङटाले स्थानीय बासिन्दासँग सडक तथा पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवा स्तरोन्नति, कृषि आधुनिकीकरण र युवाका लागि रोजगारी सिर्जना जस्ता विषयमा प्रत्यक्ष संवाद गरेका थिए। उनले विगतमा आफ्नो पहलमा सम्पन्न विकासकार्यहरूको विवरण प्रस्तुत गर्दै अधुरा तथा प्रक्रियामा रहेका योजनालाई निर्वाचन जित्नासाथ प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
रुङटाले पर्सा क्षेत्रलाई आर्थिक, शैक्षिक र सामाजिक दृष्टिले नमूना क्षेत्र बनाउने लक्ष्य राखेको उल्लेख गर्दै संघीय सरकारसँग समन्वय गरी बजेट विनियोजन र प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिने बताए।
कार्यक्रममा स्थानीयवासीले मुख्य तथा भित्री सडक स्तरोन्नति, सिंचाइ सुविधा, दीगो खानेपानी व्यवस्था, स्वास्थ्य चौकी सुदृढीकरण र युवाको रोजगारी सिर्जना लगायत क्षेत्रीय विकासका विषयमा सुझाव दिएका थिए। कृषकका लागि मल–बीउको सहज उपलब्धता र साना उद्यम प्रवर्द्धन गर्नुपर्ने मागसमेत राखिएको थियो।
घरदैलोमा क्षेत्रीय नेता, स्थानीय अगुवा, बुद्धिजीवी, पार्टी कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थितिले कांग्रेसप्रति क्षेत्रीय समर्थन बलियो हुँदै गएको देखिएको छ। स्थानीय नेताहरूका अनुसार रुङटाको सक्रियता, निरन्तर जनसम्पर्क र विकास प्रतिको स्पष्ट दृष्टिकोणले मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको छ।