पर्सा क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई तीव्रता दिएका छन् ।
पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१५ का लक्ष्मणवा र भेडियाही गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । सो क्रममा स्थानीय बासिन्दा तथा समर्थकहरूले फुलमाला लगाएर उनको भव्य स्वागत गरेका थिए ।
घरदैलोका क्रममा यादवले आफू दुई पटक पर्सा–१ बाट निर्वाचित भएपछि क्षेत्रमा गरेका विकास कार्यबारे मतदातालाई जानकारी गराए । विशेषगरी गत वर्ष देखिएको खानेपानी संकट समाधानमा आफ्नो भूमिकाबारे स्मरण गराउँदै उनले समस्या देखिएको २४ घण्टाभित्रै आवश्यक निर्देशन दिएको दाबी गरे ।
“पानीको समस्या निम्तिएको बेला सौभाग्यवश म खानेपानी मन्त्री थिएँ । समस्या देखिएको २४ घण्टाभित्रै प्रत्येक टोल–टोलमा डीप बोरिङ जडान गर्ने निर्देशन दिएपछि आज वीरगन्जको खानेपानी समस्या अन्त्य भएको छ,” यादवले भने ।
निर्वाचनपछि पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै उनले मतदातालाई सुझबुझपूर्ण निर्णय लिन आग्रह गरे । “म सधैं तपाईंहरूको बीचमा छु । सांसद बने पनि, मन्त्री बने पनि तपाईंहरूको घरदैलोमा आएर सुख–दुःखको सारथी बनेको छु,” उनले भने, “अन्य केही उम्मेदवार भने चुनावमा मात्र देखिने पात्र हुन् ।”
यादवले अन्य दलका उम्मेदवार मत माग्न आए उनीहरूसँग काम, उपस्थिति र प्रतिबद्धताबारे प्रश्न गर्नसमेत मतदातालाई आग्रह गरे ।
घरदैलो कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल, वीरगन्ज–१५ का वडाध्यक्ष रमेश यादव, एमाले नेता शम्भु गुप्ता, युवा नेता इश्वरचन्द्र यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।