सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार र सञ्चारकर्मी आफ्नो पेशागत कर्तव्य निभाउने क्रममा मारिएका छन् , जसमा करिब दुई तिहाइ पीडा इजरायली सेनाका कारण भएको दाबी छ।
न्यूयोर्कस्थित प्रेस स्वतन्त्रता प्रवर्द्धन गर्ने गैर–नाफामूलक संस्था कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे) ले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक समावेश गरिएको छ। प्रतिवेदन अनुसार, १९९२ देखि संकलन गरिएका तथ्यांकमा पहिलो पटक कुनै पनि सरकारको सेनाभन्दा इजरायली डिफेन्स फोर्स (आईएफडी)ले सबैभन्दा धेरै लक्षित पत्रकारको हत्या गरेको देखिएको छ।
सन् २०२५ मा इजरायली कारण ८६ जना पत्रकार मारिएका थिए, जसमा ५५ जना गाजाका प्यालेस्टिनी र बाँकी यमनस्थित हाउथी सञ्चार केन्द्रमा कार्यरत थिए। त्यस्तै, विश्वका अन्य पत्रकारका लागि घातक क्षेत्रहरूमा सुडान (९ जना), यमन (६ जना), युक्रेन (४ जना), र फिलिपिन्स (३ जना) पर्दछन्।
आईएफडीले प्रतिवेदनका दाबीहरू अस्वीकार गर्दै, केही व्यक्तिहरू पत्रकारको भेषमा आतंकवादी गतिविधिमा संलग्न रहेको बताए। प्रतिवेदनमा उल्लेख अनुसार, गाजा युद्धका क्रममा मारिएका पत्रकारमध्ये करिब ६० प्रतिशत हमास वा प्यालेस्टिनी इस्लामिक जिहादसँग आबद्ध रहेको दाबी गरिएको छ।
सीपीजेले नेपालको पत्रकार अवस्थाको पनि उल्लेख गर्दै, आपराधिक गिरोह, भ्रष्ट राजनीति र अधिनायकवादी राज्यका कारण पत्रकारहरू जोखिममा रहेको जनाएको छ। २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका वरिष्ठ भिडियो पत्रकार सुरेश रजकको आगलागीमा मृत्यु पनि रिपोर्टमा समेटिएको छ।
प्रतिवेदन ७ अक्टोबर २०२३ देखि ३० नोभेम्बर २०२५ सम्म २६६ जनाको मृत्युका घटनाको अध्ययनबाट तयार पारिएको हो।