"म यो निर्वाचनमा नेता बन्न होइन, सेवा गर्न र काम गर्ने नयाँ संस्कृति स्थापित गर्न आएको हुँ।" नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल कुमार रुङ्गटाले आफ्नो चुनावी कार्ययोजना 'प्रतिज्ञा पत्र' मार्फत सार्वजनिक गर्दै यस्तो उद्घोष गरेका छन् । वीरगञ्जलाई देशको 'अर्थतन्त्रको इन्जिन' मान्ने रुङ्गटाले अब यो इन्जिनले सबैभन्दा पहिले आफ्नै क्षेत्रका नागरिकलाई सेवा र सुविधा दिनुपर्ने संकल्प गरेका छन् ।
'भिजन १० प्रतिज्ञा': के छन् मुख्य योजना ?
उम्मेदवार रुङ्गटाले स्थानीय आवश्यकताको गहिरो सर्वेक्षण र जनसुझावका आधारमा १० बुँदे कार्ययोजना प्रस्तुत गरेका छन्, जसलाई उनले 'अनिलको १० प्रतिज्ञा' नाम दिएका हुन्ः
पहिले पानी अभियान: 'घरघरै सफा पानी' पुर्याउन वैज्ञानिक नक्साङ्कन गर्ने, बिग्रेका धाराहरू तुरुन्त मर्मत गर्ने र 'वर्षा सम्हालौँ' अभियानमार्फत इनार तथा ट्युबवेल रिचार्ज गर्ने।
स्वास्थ्य सम्मान कार्यक्रम: नारायणी अस्पतालको सेवा सुधार गर्ने र बिरामीलाई फिर्ती होइन, भरपर्दो उपचार र आत्मसम्मानको प्रत्याभूति दिने।
शिक्षा र सीप विकास: 'किताब पनि, सीप पनि' को अवधारणासहित सामुदायिक विद्यालयलाई सशक्त बनाउने र युवालाई स्वरोजगारसँग जोड्ने।
आर्थिक स्वतन्त्रता योजना: वीरगञ्जको व्यापारिक साख फर्काउँदै युवाहरूका लागि आफ्नै सहरमा सम्मानजनक रोजगारी र उद्यमको अवसर सिर्जना गर्ने।
जेन-जेड (Gen Z) र युवा सपना: नयाँ पुस्ताका युवाहरूलाई निष्पक्ष अवसर दिने र उनीहरूको सिर्जनशीलतालाई देश विकासमा लगाउने।
पिछडिएका वडाको स्तरवृद्धि: विकासको मूल प्रवाहबाट पछाडि परेका वडाहरूमा पूर्वाधार, सडक र उज्यालो अभियान सञ्चालन गर्ने।
हरित र स्वच्छ वीरगञ्ज: सहरमा हरियाली प्रवर्द्धन गर्ने, सार्वजनिक खुला क्षेत्रको संरक्षण गर्ने र प्रदूषण नियन्त्रणमा कडा कदम चाल्ने।
संस्कृति र गौरव संरक्षण: ऐतिहासिक धरोहरहरूको संरक्षण गर्ने र नारायणी रङ्गशालाको स्तरोन्नति गरी वीरगञ्जको खेलकुद पहिचान जोगाउने।
निडर नारी, सुरक्षित समाज: महिलाहरूको सार्वजनिक सुरक्षा सुनिश्चित गर्ने र उनीहरूको हक-अधिकारको पूर्ण प्रत्याभूति गर्ने।
स्वच्छ शासन र जनता कार्यालय: 'जनताको कार्यालय' मार्फत पारदर्शी सेवा दिने र कानुन निर्माणमा मतदाताको प्रत्यक्ष राय लिने व्यवस्था गर्ने।

सिरसिया नदी र वातावरणमा विशेष जोड
आफ्नो प्रतिज्ञा पत्रमा रुङ्गटाले सिरसिया नदीको प्रदूषणलाई सार्वजनिक स्वास्थ्यको गम्भीर मुद्दाका रूपमा उठाएका छन् । उनले संघीय सरकारसँग समन्वय गरी 'साझा फोहोर प्रशोधन केन्द्र' (CETP) स्थापना गर्ने र प्रदूषण गर्ने उद्योगहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

"पार्टीभन्दा जनता माथि"
उम्मेदवार रुङ्गटाले आफ्नो राजनीतिक आधार नेपाली कांग्रेस भए पनि प्राथमिकतामा सधैँ 'पर्सा-१' का जनता रहने स्पष्ट पारे । "म विज्ञापन र भाषणमा होइन, काम र परिणाममा विश्वास गर्छु," उनले भने, "तपाईँहरूले मलाई निर्वाचित गराएपछि यी प्रतिज्ञाहरूका आधारमा मेरो निर्मम मूल्याङ्कन गर्न सक्नुहुन्छ।"
पर्सा १ को समग्र विकास र सुशासनका लागि यो 'भिजन डकुमेन्ट' कोसेढुङ्गा सावित हुने दाबी रुङ्गटाको चुनावी प्रचार टोलीले गरेको छ।