विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्तुत गर्ने र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले वीरगञ्ज स्थित गोल्डेन फ्युचर सेकेण्डरी स्कुलमा ‘विज्ञान प्रदर्शनी तथा फूड फेस्टिवल’ कार्यक्रम रूपमा सम्पन्न भएको छ ।
विद्यालय परिसरमा आयोजित उक्त विशेष समारोहमा करिब १ हजार भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष डा. उमेश चौरसियाको अध्यक्षतामा सञ्चालन भएको हो ।

प्रदर्शनीको अवलोकन गर्दै डा. चौरसियाले विद्यार्थीहरूले कक्षाकोठामा सैद्धान्तिक रूपमा पढेका विषयहरूलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रमले पुलको काम गर्ने बताए । उनले भने, “विद्यार्थीहरूले पुस्तकबाट सिकेका कुरालाई प्रदर्शनीमार्फत प्रस्तुत गर्दा उनीहरूमा वैज्ञानिक सोचको विकास हुन्छ । विज्ञानका जटिल सिद्धान्तहरूलाई प्रयोगात्मक रूपमा बुझ्ने यो एउटा सुनौलो अवसर हो ।”
प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका विभिन्न विज्ञानका मोडेलहरू, रोबोटिक्स र वातावरण संरक्षणका उपायहरू प्रस्तुत गरिएका थिए ।

विज्ञानसँगै आयोजना गरिएको ’फूड फेस्टिवल’ मा विद्यार्थीहरू आफैँले विभिन्न परिकारहरू तयार पारी प्रदर्शनीमा राखेका थिए । यसले विद्यार्थीहरूमा खाना पकाउने सीप मात्र नभई व्यवस्थापन र व्यावसायिक क्षमताको समेत विकास गर्ने विद्यालयको विश्वास छ ।
डा. चौरसियाले थपे, “फूड फेस्टिवलबाट विद्यार्थीहरूले आफूले सिकेका सीपलाई प्रयोग गरी कसरी आयआर्जन गर्न सकिन्छ र भविष्यमा उद्यमशील बन्न सकिन्छ भन्ने कुराको प्रारम्भिक ज्ञान प्राप्त गरेका छन् ।”

कार्यक्रममा अभिभावक, शिक्षाविद् तथा स्थानीय बासिन्दाहरूको ठूलो उपस्थिति रहेको थियो । सहभागीहरूले विद्यालयले किताबी ज्ञानमा मात्र सीमित नभई अतिरिक्त क्रियाकलाप र व्यवहारिक शिक्षामा जोड दिएको भन्दै प्रशंसा गरेका थिए ।
