जनमत पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले वीरगञ्जलाई रोजगारीयुक्त, व्यवस्थित र समृद्ध सहर बनाउने संकल्पसहित महत्वाकांक्षी चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। ‘नेपाल निर्वाचन २०८२’ लाई लक्षित गर्दै उनले बेरोजगारी, भ्रष्टाचार र कमजोर पूर्वाधार अन्त्यका लागि जनमत पार्टी नै प्रमुख विकल्प भएको दाबी गरेका छन्।
पाँच वर्षमा ३० हजार रोजगारी
उम्मेदवार सर्राफले आगामी पाँच वर्षमा कम्तीमा ३० हजार रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विशेष योजना अघि सारेका छन्। ५ अर्ब रुपैयाँको ‘युवा स्वरोजगार कोष’ स्थापना गरी स्टार्टअप सहयोगमार्फत युवालाई स्वदेशमै उद्यमी बनाउने, १० हजार युवालाई बजारको मागअनुसार सीपमूलक तालिम प्रदान गर्ने तथा पाँच वर्षभित्र ५ हजार नयाँ व्यवसाय दर्ता गराउन ‘वान स्टप बिजनेस सहायता केन्द्र’ स्थापना गर्ने योजना उनले सार्वजनिक गरे।
तीन प्रमुख ‘ड्रिम प्रोजेक्ट’
वीरगञ्जको मुहार फेर्न उनले तीन नीतिगत ‘ड्रिम प्रोजेक्ट’ अघि सारेका छन्:
नारायणी रंगशाला विकास : अधुरो रहेको रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक क्रिकेट तथा बहुउद्देश्यीय रंगशालाका रूपमा निर्माण गर्ने।
सिर्सिया नदी सरसफाइ : वीरगञ्जको जीवनरेखा मानिने सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाई किनारमा हरियाली प्रवर्द्धन गर्ने।नारायणी अस्पताल स्तरोन्नति : नारायणी अस्पताललाई आधुनिक र सुविधासम्पन्न बनाई वीरगञ्जलाई मधेस प्रदेशकै प्रमुख स्वास्थ्य हबका रूपमा विकास गर्ने।
स्वास्थ्य, शिक्षा र सुशासन
सर्राफले नगर स्वास्थ्य बीमा सहयोग कार्यक्रम सञ्चालन गर्ने, वर्षमा ५० भन्दा बढी निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने तथा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा विस्तार र शिक्षक तालिममार्फत डिजिटल शिक्षा प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरे।
भ्रष्टाचार नियन्त्रणका लागि सबै महानगर सेवाहरूलाई पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र २४ घण्टा गुनासो दर्ता हेल्पलाइन सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
लाउडस्पीकर (हर्न) छाप चुनाव चिह्नसहित मैदानमा उत्रिएका सर्राफले वीरगञ्जका भित्री सडक स्तरोन्नति, आधुनिक ढल निकास र हरित सार्वजनिक पार्क निर्माणलाई पनि आफ्नो पाँच वर्षे कार्ययोजनामा समेटेका छन्। जनताको प्रत्यक्ष सहभागिता बिना विकास सम्भव नहुने उल्लेख गर्दै उनले आफूलाई विजयी गराउन मतदातासँग अपिल गरेका छन्।