अनिल रुङटाले बुधबार बिहान वीरगञ्ज महानगरपालिका–१८ मनियारी भवानीपुरमा उत्साहपूर्ण घरदैलो गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
नेपाली कांग्रेस पर्सा–१ का उम्मेदवार रुङटा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उपस्थितिमा वडाबासीसँग भेटघाट गर्दै लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र देशको समग्र विकासका लागि कांग्रेस सक्षम र प्रतिबद्ध दल रहेको दाबी गरे। “स्थायित्व, सुशासन र समृद्धिका लागि कांग्रेसलाई मत दिएर विजयी गराउन म सम्पूर्ण मतदातासँग आग्रह गर्दछु,” उनले भने।
घरदैलोका क्रममा रुङटाले भने, “युवाहरूको सक्रिय सहभागिता र नवीन सोचसहित अघि बढिरहेको कांग्रेस आज व्यवहार र विचार दुवै हिसाबले रूपान्तरण भएको पार्टी हो। जनविश्वास र समर्थन बढ्दै गएको छ। हामी विकासलाई केवल नारामा सीमित नराखी योजनाबद्ध र परिणाममुखी कार्यमार्फत मूर्त रूप दिन चाहन्छौं।”
उनले वर्तमान राजनीतिक संकटबाट मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्व अपरिहार्य रहेको जोड्दै समावेशी विकास, जनअधिकारको संरक्षण, आर्थिक सबलीकरण र दीगो राजनीतिक स्थायित्व कांग्रेसकै नेतृत्वमा सम्भव हुने बताए।
कार्यक्रममा स्थानीयवासीले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा अपेक्षा राखेका थिए। रुङटाले ती मागप्रति प्रतिबद्धता जनाउँदै निर्वाचनपछि पनि निरन्तर जनसंपर्कमा रहने विश्वास दिलाएका छन्।