आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग) ले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत मंगलबार व्यापक घरदैलो अभियान सञ्चालन गरेका छन्।
उम्मेदवार सिंहले वीरगञ्ज महानगरपालिका–१२ मुरली गाउँ तथा महानगर–८ मुरली बगैंचा र पानीटंकी टोलमा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका थिए। घरदैलोका क्रममा स्थानीयवासीले फूलमाला र खादा ओढाएर उनलाई स्वागत तथा सम्मान गरेका थिए।
भेटघाटका अवसरमा स्थानीय युवाहरूले विगतमा विभिन्न दल र उम्मेदवारले विकास, रोजगारी र पूर्वाधार सुधारका प्रतिबद्धता जनाए पनि व्यवहारमा उपलब्धि नदेखिएको असन्तुष्टि व्यक्त गरे। निर्वाचनको समयमा मात्र युवालाई प्रयोग गर्ने र चुनावपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्ति दोहोरिन नदिन चेतावनीसमेत दिएका थिए।
स्थानीय बासिन्दाले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ को काममुखी नेतृत्वको प्रशंसा गर्दै परिणाम दिन सक्ने नयाँ सोच भएका उम्मेदवारलाई समर्थन गर्ने अठोट व्यक्त गरेका थिए। सो क्रममा उनीहरूले सिंहप्रति विश्वास र समर्थन रहेको स्पष्ट पारे।
उम्मेदवार सिंहले निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय उद्योग तथा कलकारखानामा योग्य स्थानीय नागरिकलाई रोजगारी सुनिश्चित गर्ने उनको योजना रहेको बताए। साथै, महानगरपालिका वडा नं. २० मा निर्वाचित भएर हासिल गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्दै क्षेत्रीय विकासका मुद्दा प्रभावकारी रूपमा उठाउने उनको भनाइ थियो।
सबै वडामा संरचनागत विकास, सामाजिक पूर्वाधार सुधार, सडक, खानेपानी र विद्युत् पहुँच सुनिश्चित गर्ने लक्ष्यसमेत उनले प्रस्तुत गरेका छन्। कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको आयोजकले जनाएको छ। स्थानीय बासिन्दाले आगामी निर्वाचनमा सिंहको विजयको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।