पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी तापक्रम चुलिँदै जाँदा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोककुमार टेमानीले विकास, समृद्धि र स्वाभिमानलाई केन्द्रमा राख्दै महत्वाकांक्षी चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
वीरगञ्ज को माटोसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै टेमानीले आफू क्षेत्रकै छोरा तथा दाजुभाइको हैसियतले जनताको सेवामा समर्पित रहने बताए। “पर्सा–२ का जनताको हरेक समस्या संसदमा सशक्त रूपमा उठाउनेछु र सम्बन्धित मन्त्रालय तथा निकायमा पुगेर समाधानका लागि आवश्यक पहल र दबाब सिर्जना गर्नेछु,” उनले भने।
वीरगञ्जलाई पुनः मुलुकको ‘आर्थिक राजधानी’का रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले औद्योगिक र व्यापारिक साख फर्काउन विशेष आर्थिक क्षेत्र तथा लगानीमैत्री नीति आवश्यक रहेको धारणा राखे। उद्योग, व्यापार र लगानी प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उनको योजना छ।
कृषि क्षेत्र सुदृढीकरणलाई प्राथमिकता दिँदै टेमानीले मल, बीउ तथा कृषि उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। किसानले उत्पादन सिधै बिक्री गर्न सक्ने कृषि बजार (गोला) स्थापना, आधुनिक सिँचाइ विस्तार, ‘एक गाउँ–एक उत्पादन’ अवधारणा कार्यान्वयन तथा निजी–सरकारी साझेदारीमा कोल्ड स्टोरेज स्थापना गर्ने योजना उनले अघि सारे।
युवाको बढ्दो वैदेशिक पलायन रोक्न स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, प्राविधिक शिक्षा तथा सीप विकास केन्द्र स्थापना गरी युवालाई आत्मनिर्भर बनाउने उनको प्रतिबद्धता छ। “विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न उत्पादन र उद्यमशीलता विस्तार गर्नुपर्छ,” उनले जोड दिए।
महिलाको आर्थिक सशक्तीकरणका लागि सीप विकास विद्यालय, महिला श्रमिकका लागि केयर सेन्टर स्थापना तथा घरेलु उद्योग सञ्चालनमा सहजीकरण गर्ने योजना उनले प्रस्तुत गरे। खाद्यान्न प्रशोधन, गार्मेन्ट र टेलरिङजस्ता उद्यममार्फत महिलाको आम्दानी बढाउने लक्ष्य उनको छ।
शिक्षा क्षेत्र सुधारतर्फ ध्यान दिँदै उनले मधेश विश्वविद्यालय लाई देशकै उत्कृष्ट विश्वविद्यालयका रूपमा विकास गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने बताए। सरकारी विद्यालयको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तहसँग समन्वय गर्ने उनको प्रतिबद्धता छ।
‘ग्रेटर वीरगञ्ज’ अवधारणा अघि सार्दै उनले व्यवस्थित शहरी विकास, पर्सागढी र बहुदरमाई नगरपालिकाको स्तरोन्नति, ग्रामीण सडक तथा नाला निर्माण र दीर्घकालीन खानेपानी समाधानका लागि विशेषज्ञ टोली परिचालन गर्ने योजना प्रस्तुत गरे।
स्वास्थ्य क्षेत्रमा सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउने, हेल्थ पोस्ट नभएका क्षेत्रमा नयाँ संरचना स्थापना गर्ने तथा सेवा सुचारु गर्न संघीय र स्थानीय सरकारसँग सहकार्य गर्ने उनले बताए।
‘तपाईंको अमूल्य मत, समृद्ध पर्साको आधार’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका टेमानीले जनताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ का मतदाताले विकास, रोजगारी र स्वाभिमानको एजेन्डालाई कत्तिको समर्थन गर्छन् भन्ने चासो बढेको छ।