पर्सा क्षेत्र नं. १ मा चुनावी माहोल तातेका बेला जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज–२१ का कुशवाहा टोल र तात्वा टोलमा व्यापक घरदैलो गर्दै स्थानीय समस्यालाई मुख्य एजेन्डा बनाएका छन्।
वीरगञ्ज महानगरपालिका वडा नं. २१ अन्तर्गत आयोजित घरदैलो कार्यक्रममा सरार्फले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको गुनासा, सुझाव र अपेक्षाबारे जानकारी लिए। स्थानीयवासीले खानेपानीको चरम अभावलाई प्रमुख समस्याका रूपमा उठाएका छन्। नियमित र शुद्ध पानी नहुँदा महिलाहरू र बालबालिकाले टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको, कतिपय स्थानमा हातेधारा बिग्रिएको तथा जडान गरिएको पाइपलाइनबाट समेत पानी नआउने समस्या रहेको गुनासो गरिएको छ।
शिक्षा क्षेत्रमा शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी र गुणस्तरीय शिक्षाको अभावले विद्यार्थी प्रभावित भएको स्थानीय अभिभावकको भनाइ छ। आर्थिक रूपमा कमजोर परिवारले समेत निजी विद्यालय रोज्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्।
स्वास्थ्य सेवाको पहुँच पनि कमजोर रहेको भन्दै सामान्य उपचारका लागि समेत बजार क्षेत्र धाउनुपर्ने अवस्था रहेको गुनासो गरिएको छ। स्वास्थ्य चौकीमा आवश्यक औषधि, उपकरण र जनशक्तिको अभाव रहेको स्थानीयको भनाइ थियो।
कृषि क्षेत्रमा सिँचाइ अभाव, मलखाद र बिउबिजनको कमी तथा उत्पादनको उचित मूल्य नपाएको विषय किसानहरूले उठाएका छन्। बजार व्यवस्थापन कमजोर हुँदा किसान निराश बनेको उनीहरूको धारणा छ।
स्थानीयका गुनासा सुनेपछि उम्मेदवार सरार्फले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। युवाहरूका लागि रोजगारी सिर्जना, किसानमैत्री नीति र सामाजिक न्याय सुदृढ गर्ने एजेन्डा आफ्नो मुख्य प्राथमिकतामा रहेको उनले बताए।
घरदैलो अभियानमा महिला टोलीसमेत परिचालन गरिएको जनाइएको छ। स्थानीय मतदाताले यसपटक परिणाममुखी काम गर्ने नेतृत्वलाई समर्थन गर्ने बताएका छन्। पर्सा क्षेत्र नं. १ मा सरार्फको चुनावी अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको जनाइएको छ।