नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले मंगलबार वीरगञ्ज महानगरपालिका–३२, टेढा गाउँका विभिन्न टोलमा व्यापक घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गर्दै एमाले नेतृत्व नै देशको आवश्यकता भएको दाबी गरेका छन्।
घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै यादवले सूर्य चुनाव चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे। उनले पछिल्लो राजनीतिक परिस्थितिलाई उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता जोगाउन बलियो नेतृत्व आवश्यक रहेको बताए।
“जेन–जी आन्दोलनपछि देशमा शून्यता सिर्जना भएको थियो। त्यस्तो अवस्थामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले विदेशी शक्तिहरूको हस्तक्षेप र चलखेलविरुद्ध दृढ अडान लिनुभयो,” यादवले भने, “अब पनि देशलाई सही दिशामा अघि बढाउन एमालेको नेतृत्व अपरिहार्य छ।”
यादवले आफ्नो अघिल्ला दुई कार्यकालमा पर्सा जिल्ला र निर्वाचन क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे। “मैले विकासको बाढी ल्याएको छु। सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, सिँचाइ र विद्युत् विस्तारका क्षेत्रमा व्यापक प्रगति भएको छ,” उनले भने, “पुनः निर्वाचित भएपछि बाँकी रहेका विकास निर्माणका सबै योजनालाई तीव्र गतिमा सम्पन्न गर्नेछु।”
कार्यक्रममा बारा क्षेत्र नं. ४ का उम्मेदवार किसान श्रेष्ठ, एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, पूर्व मन्त्री एकबाल अहमद, नेकपा (एमाले) मधेश प्रदेशका सचिव मनोज पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
टेढा गाउँमा आयोजित कार्यक्रममार्फत यादवले विकास, स्थायित्व र राष्ट्रिय स्वाभिमानलाई आफ्नो मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्दै मतदातासँग समर्थन मागेका छन्।