क्रिकेट इतिहासका सबैभन्दा चर्चित अम्पायरमध्येका एक स्टिभ बकनरले २२ वर्षपछि सचिन तेन्दुलकरविरुद्ध दिएको विवादास्पद निर्णय गलत भएको स्वीकार गरेका छन्। ७९ वर्षीय बकनरले ब्रिस्बेनको गाब्बा मैदानमा २००३–०४ मा भारत–अस्ट्रेलिया टेस्टका क्रममा तेन्दुलकरलाई एल्बीडब्ल्यू आउट दिनु आफ्नो गल्ती रहेको बताएका हुन्।
त्यो समय आफ्नो उत्कर्षमा रहेका तेन्दुलकर पहिलो इनिङ्समा मात्र तीन बल खेलेर शून्यमा फर्किएका थिए। जेसन गिलेस्पीको बलमा बल ब्याटमा नलागी प्याडमा लागेपछि अस्ट्रेलियाली खेलाडीहरूको जोडदार अपिलमा बकनरले औंला उठाएका थिए। तर रिप्लेमा बल स्टम्पभन्दा माथि गइरहेको स्पष्ट देखिएको थियो। कमेन्टेटर टोनी ग्रेगले तत्कालै त्यसलाई “डरावना निर्णय” भनेका थिए।
वेस्ट इन्डिज क्रिकेट अम्पायर्स एसोसिएसनसँगको अन्तर्वार्तामा बकनरले भने, “सचिन तेन्दुलकरलाई एल्बीडब्ल्यू दिनु मेरो गल्ती थियो। आजसम्म पनि मानिसहरूले त्यो निर्णयबारे कुरा गर्छन्। जीवनमा गल्ती हुन्छन्, मैले स्वीकार गरिसकेको छु।”
यो पहिलो घटना मात्र थिएन। २००५ मा भारत–पाकिस्तान टेस्टका क्रममा अब्दुल रज्जाकको बल तेन्दुलकरको ब्याट नछुने गरी गएकामा पनि बकनरले आउट दिएका थिए, जसले थप विवाद चर्काएको थियो।
बकनरले १२० भन्दा बढी टेस्टमा अम्पायरिङ गर्दै धेरै विश्वकपमा सेवा दिएका थिए। तर भारतीय समर्थकमाझ उनी प्रायः तेन्दुलकरविरुद्धका निर्णयका कारण सम्झिने गरिन्छ।
गत वर्ष सामाजिक सञ्जाल ‘रेडिट’मा भएको ‘आस्क मी एनीथिङ’ सत्रमा एक प्रशंसकले बकनरबारे धारणा सोध्दा तेन्दुलकरले मजाक गर्दै भनेका थिए, “म ब्याटिङ गर्दा उनलाई बक्सिङ ग्लोभ्स लगाइदिनुहोस्, ताकि औंला उठाउन नसकून्।”