केही दिनअघि मात्रै नेकपा (एमाले) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका बरुसुदिन अन्सारीको सक्रिय पहल र नेतृत्वमा प्रसौनी सबैठवामा आयोजित विशेष कार्यक्रममा ४३१ जना स्थानीयवासी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सामूहिक पार्टी प्रवेशलाई क्षेत्रीय राजनीतिमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
लामो समयदेखि क्षेत्रको सामाजिक तथा राजनीतिक नेतृत्व गर्दै आएका अन्सारीले विकास र समावेशी राजनीतिप्रति आफ्नो स्पष्ट धारणा राख्दै आएका छन्। उनले क्षेत्रको विकास, सामाजिक सद्भाव तथा जनताको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस नै उपयुक्त शक्ति भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
पार्टी प्रवेश गर्नेहरूमा एमालेका नेता ताजुदिन अन्सारी, जसपाका प्रदेश सदस्य मुस्ताक अन्सारी, एमाले वडा कमिटीका सचिव रेयाज अन्सारी, सद्भावना पार्टीका नेता रामनरेश यादव, माओवादीका पूर्व जिल्ला सदस्य अच्छेलाल पासवानलगायत ४३१ जना स्थानीयवासी रहेका छन्। नवप्रवेशीहरूलाई खादा र टीका लगाएर स्वागत गरिएको थियो।
कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटाले जनताको विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले पर्सा क्षेत्र नं. १ को समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विशेष पहल गर्ने प्रतिबद्धता जनाए।
“जनताको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। प्रसौनी सबैठवाका करिब ४३१ जना बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू पार्टीमा आबद्ध हुनु सकारात्मक सन्देश हो,” रुङटाले भने। उनले विकास र समृद्धिको राजनीतिमा अघि बढ्न सबै दल र समुदायबीच सहकार्य र सहमति आवश्यक रहेको स्पष्ट पारे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जर्नादन सिंह क्षेत्रीले पार्टीभित्रको एकता र जनतासँगको निकट सम्बन्ध नै कांग्रेसको मुख्य शक्ति भएको बताए। उनले संगठन सुदृढीकरण र घरदैलो अभियानलाई तीव्र बनाउँदै आगामी निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा कांग्रेस सधैं अग्रपंक्तिमा रहेको उल्लेख गर्दै जिम्मेवार र दूरदर्शी नेतृत्वको आवश्यकता औंल्याए। उपसभापति रामनारायण कुर्मीले सामाजिक सद्भाव, युवा सशक्तीकरण तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।
सामूहिक पार्टी प्रवेश कार्यक्रमसँगै पर्सा क्षेत्र नं. १ को राजनीतिक माहोल थप सक्रिय बनेको स्थानीयवासीहरूको भनाइ छ।