गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिका वडा नं. १८ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी सम्मानजनक मत ल्याएका नरेश प्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
सोमबार वीरगञ्जमा आयोजित एक अनौपचारिक स्वागत कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व मन्त्री प्रदीप यादवले उनलाई पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेता ईश्वरचन्द्र यादवलगायत एमालेका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
नवप्रवेशी यादवलाई फूलमाला, टीका र खादा ओढाएर भव्य स्वागत गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रदीप यादवले नरेश यादवजस्ता लोकप्रिय र इमानदार व्यक्तित्वको प्रवेशले पार्टी सङ्गठन थप सुदृढ भएको बताए। “सम्मानजनक मत ल्याउनु भएका नरेश यादवको प्रवेशले वीरगञ्ज–१८ अब एमालेको लाल किल्ला बन्ने आधार तयार भएको छ। उहाँको सक्रियताले वडाको विकास, जनताको सेवा र पार्टी विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।
पार्टी प्रवेशपछि नरेश प्रसाद यादवले एमालेमा आवद्ध हुँदा आफूलाई नयाँ ऊर्जा मिलेको प्रतिक्रिया दिए। “वीरगञ्जको समग्र विकास र जनताको सेवामा अब अझ प्रभावकारी रूपमा लाग्न सक्ने विश्वास लिएको छु। एमालेको सिद्धान्त र नीतिप्रति मेरो पूर्ण सहमति छ,” उनले बताए।
नरेश यादवको प्रवेशसँगै वीरगञ्ज महानगरपालिका–१८ मा एमालेको सङ्गठन थप विस्तार भएको स्थानीय नेताहरूले बताएका छन्। कार्यकर्ताहरूले यसलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन्।