नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य र उम्मेदवारहरूको ठूलो खर्च भइसकेकाले अब निर्धारित समयमा प्रतिनिधिसभा निर्वाचन अवश्य हुनुपर्ने बताएका छन्। चुनाव स्थगित गर्न विभिन्न प्रयासहरू भइरहे पनि एमाले कुनै अलमलमा नपरी जित्ने तयारीमा रहेको उनले स्पष्ट पारे।
अध्यक्ष ओलीले भने, “हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। चुनाव स्थगित गर्न पनि प्रयास भइराखेका छन्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं। जित्नै पर्छ, त्यसैमा केन्द्रित छौं। अब कुनै अलमल हुनु हुँदैन।”
उनले विगत ६ महिनासम्म चुनावको तयारी गर्दा कसैले चासो नदिएको तर अब अन्तिम समयमा “अब चुनाव हुँदैन” भन्नु गलत भएको दाबी गरे। ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको र उम्मेदवारहरूको तयारी सम्पन्न भएको स्मरण गराउँदै, “देशको खर्च र उम्मेदवारको तयारी भइसकेको अवस्थामा चुनाव रोक्नु उचित होइन,” भने।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै “सानो भाँडोमा दुध उमालेर तलबाट बेसरी आगो बाल्दा जस्तो” रूपमा कुनै आधार नभएको गतिविधि थालेको टिप्पणी गरेका छन्। उनले भनाए, “जित्दैनौं भन्ने सोच बनाएर अर्काको झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्ने र अपमान गर्ने काम उनीहरूले सुरु गरिसकेका छन्।”
ओलीको यस वक्तव्यले आगामी निर्वाचनको तयारी र राजनीतिक प्रतिस्पर्धालाई अझै सक्रिय बनाउने संकेत गरेको छ।