पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत जगरनाथपुर क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटाको आगमनसँगै चुनावी माहोल थप तातेको छ। घरदैलो अभियानका क्रममा पुगेका रुङटालाई स्थानीय बासिन्दाले फूलमाला, अबिर र शुभकामनासहित उत्साहपूर्ण स्वागत गरेका छन्।
जगरनाथपुर वडा नं. २२ मा बुथ सभापति नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमसँगै आसपासका विभिन्न टोलमा भेला, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रमहरू विस्तार हुँदै गएका छन्, जसले समग्र क्षेत्रलाई चुनावमय बनाएको छ।
प्रचार–प्रसार केन्द्र उद्घाटनपछि रुङटाले प्रत्येक टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै उनले क्षेत्रको समग्र विकासका स्पष्ट योजना प्रस्तुत गरेका थिए।
कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता उल्लेखनीय देखिएको थियो। सहभागीहरूले क्षेत्रीय विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। युवाहरूले सीप विकास, खेलकुद पूर्वाधार विस्तार तथा उद्यमशीलता प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै रुङटाले आफ्नो उम्मेदवारी केवल अनुहार फेर्ने माध्यम नभई कार्यशैली र नतिजा परिवर्तन गर्ने अवसर भएको उल्लेख गरे। “निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो त कार्यशैली र नतिजा फेर्ने अवसर हो,” उनले भने। सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणालीलाई प्राथमिकतामा राख्दै पर्सा क्षेत्र नं. १ को विकास तथा राष्ट्रिय नीति निर्माणमा युवा दृष्टिकोण समावेश गर्ने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट पारे।
पर्सा–१ का मतदाताबाट अत्यधिक मतसहित विजयी हुने विश्वास व्यक्त गर्दै रुङटाले जनताको साथ, समर्थन र सुझावलाई सधैं उच्च सम्मानका साथ आत्मसात् गर्ने प्रतिबद्धता जनाए। चुनावपछि पनि निरन्तर जनतामाझ रहेर विकास निर्माणका कामलाई तीव्रता दिने र क्षेत्रको समृद्धिका लागि पूर्ण रूपमा समर्पित रहने अठोट उनले व्यक्त गरे।