पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा आक्रामक घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। आइतबार बिहानैदेखि टोल–टोलमा पुगेका यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका हुन्।
पूर्व मन्त्रीसमेत रहेका यादवले आफूले विगतमा सांसद र खानेपानी मन्त्रीका रूपमा गरेको कामलाई निरन्तरता दिन एमालेको जित आवश्यक रहेको बताए। “मैले खानेपानी मन्त्री हुँदा सुरु गरेका योजनाहरू अझै पूर्ण हुन बाँकी छन्। ती योजनालाई सम्पन्न गरी पर्सालाई विकासको नयाँ चरणमा पुर्याउन सूर्यको जित अपरिहार्य छ,” उनले मतदातासँग भने।
घरदैलोका क्रममा उनले स्थिर सरकार, तीव्र विकास र समृद्ध पर्साको एजेन्डा अघि सारे। यादवले विकासका लागि केन्द्र र प्रदेशसँग प्रभावकारी समन्वय गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफू अनुभवी र परिणाममुखी उम्मेदवार भएको दाबी गरे।
स्थानीय बासिन्दाले सडक सुधार, ढल निकास व्यवस्थापन, खानेपानी आपूर्ति, विद्युत सेवा, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवा विस्तारका विषयमा प्रश्न तथा सुझाव राखेका थिए। यादवले सबै मागलाई गम्भीरतापूर्वक लिँदै चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए। “जनताले देख्ने र महसुस गर्ने विकास नै मेरो प्राथमिकता हो,” उनले स्पष्ट पारे।
कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता तथा वडाका जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यादवको सक्रिय घरदैलो अभियानले पर्सा–१ को चुनावी प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।